यस्तो छ अर्जुनधाराको नीति तथा कार्यक्रम « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

यस्तो छ अर्जुनधाराको नीति तथा कार्यक्रम


यलम्वर टाइम्स
२० असार २०७७, शनिबार ०३:४३

अर्जुनधारा, २० असार । ‘समृद्ध अर्जुनधारा, सुखी अर्जुनधारावासी’ भन्ने उद्देश्यका साथ यो वर्ष अर्जुनधारा नगरपालिकाले फरक ढंगबाट ०७७।७८ का लागि नीति तथा कार्यक्रममा ल्याउने भएको छ ।

नगरपालिकाका सचिवालय प्रमुख प्रत्युस आजाद रानासँग सभाको दोस्रो दिन बहसको रुपमा अगाडि ल्याइएका विषयमा यलम्वर टाइम्सले गरेको कुराकानीमा नीति तथा कार्यक्रम विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ बाट पर्न सक्ने असरका कारण आर्थिक विकास तथा स्वरोजगारलाई प्राथमिकता दिँदै संविधानमा उल्लेखित व्यवस्था अनुसार समाजवाद उन्मुख बजेट आउने बताए ।

सचिवालय प्रमुख रानाले ‘समृद्ध अर्जुनधारा, सुखी अर्जुनधारावासी’ भन्ने नारालाई सार्थकता दिन यो वर्ष आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र सुशासनलाई मध्यनजर रहेको जनाएका छन् ।

आर्थिक विकासमा कृषि, पशुपंक्षी तथा लघु उद्यमलाई पहिलो प्राथमिकता दिएको बताउँदै सचिवालय प्रमुख रानाले कोभिडका कारण आउन सक्ने आर्थिक संकटलाई थेग्न कृषिबाटै आत्मनिर्भर र व्यवसायीक बनाउन आउने बजेटले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

उनले अगाडि भने, ‘जनतामा आर्थिक उन्नति बिना नगरको उन्नति असम्भव छ, त्यसकारण ८ सयदेखि एक हजार कृषकलाई कृषि, पशुपंक्षीमा व्यवसायीक बनाउन उत्पादन, प्रशोधन र बजारीकरणको लागि सहज वातावरण बनाउन नीति तथा कार्यक्रम ल्याइएको छ ।’

रानाले स्थानीय प्रजातिका अन्नवालीका बीऊ बिजन उत्पादन गरि प्रत्येक वडामा कृषि उपज संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गरेर जाने बताउँदै यसबाट कृषकहरुको उत्पादकत्वमा वृद्धि हुने र उत्पादित वस्तुलाई शीत भण्डार, खाद्य भण्डार स्थापना गर्ने लघु तथा घरेलु उद्योगलाई नागरिकसँग साझेदारीमा स्थापना गरि सञ्चालन गर्ने समेत बताए ।

उनले अगाडि भने, ‘नीति कार्यक्रममा कृषि उपज संकलन तथा बिक्री वितरण केन्द्र प्रत्येक वडामा स्थापना गर्ने र क्रमशः प्रत्येक वडाको ५५ वटै टोलमा पुर्याउने लक्ष्य रहेको छ ।’ अर्जुनधारा नगर हिजो पनि कृषिमा आश्रित थियो ।

पूर्वाञ्चल क्षेत्रलाई अन्न पुर्याउने क्षमता यसै अर्जुनधारा क्षेत्रमा रहेको इतिहास साक्षी छ । धान, मकै लगायत अन्नका ठूल्ठूला गोदाम, मिल यसै क्षेत्रमा रहेको हुँदा कृषकहरुको उत्पादनमा सहजता ल्याउनका लागि एक हजार विगाह सिचाईंको व्यवस्था गर्दै खाद्य उद्योग सञ्चालन गरेर अगाडि बढ्ने योजना रहेको सचिवालय प्रमुख रानाले बताए ।

बेमौसमी तरकारी खेति गर्नेदेखि पकेट कार्यक्रममा सहभागि कृषकहरुलाई साझेदारीमा बोरिङ उपलब्ध गराउनका साथै कुलोपैनी सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

पशुपंक्षीको हकमा अर्जुनधारा क्षेत्रलाई लोकल कुखुराको पकेट क्षेत्र बनाइ अर्जुनधारा नगरका प्रत्येक वडामा ५०।५० कृषकहरुलाई व्यवसायीक बनाउन मासु उत्पादनमा सहज ऋण उपलब्ध गराउने व्यवस्था मिलाउने र पशुपंक्षी बीमामा अनुदानको व्यवस्था मिलाउने, प्राविधिकको नियमित अनुगमन तथा उपचार, बजारीकरणको लागि समर्थन मूल्य तोक्ने र त्यसका लागि आर्थिक विकाससँग सम्बन्धित कार्यविधि निर्माण गरि पब्लिक प्राइभेट गभरमेन्ट पार्टनरसीप प्रोग्राम (पीपीजीपी) सञ्चालन गरि कार्यान्वयनमा ल्याइने योजना रहेको जनाए ।

उनले प्रत्येक वर्ष ६ लाख केजी लोकल कुखुराको मासु निकासी गरि ३० करोड रकम नगरमा भित्र्याउने लक्ष्य रहेको समेत बताए ।

रानाले लोकल कुखुरालाई मात्र नभई, बंगुर, बाख्रा, पाडा, हाँस र माछा लगायतका मासु तथा दूधजन्य उत्पादनमा आत्मनिर्भर बनाउन योजना ल्याइएको जानकारी दिए ।

दूध, दहि, घ्यू र पनीर उत्पादन गर्न नगरपालिकाले गाई, भैंसीपालक कृषकहरुलाई पशु बीमा, नश्ल सुधारमा सहयोग गर्ने जनाए ।

कृषि तथा पशुपंक्षी सेवा नगरका तीन स्थानमा विस्तार गरि माटो परीक्षण र माटो उपचार, पशुपंक्षीको प्राथमिक उपचार निःशुल्क गरिने समेत जनाए ।

पीपीजीपीलाई कार्यान्वयन गर्न नगरपालिकाले स्थानीय स्तरका सहकारी, वाणिज्य संघ, चेम्वर अफ कमर्श, उद्योगीका प्रतिनिधिलाई समेटेर छुट्टै कार्यदल निर्माण गरेको जानकारी दिँदै पीपीजीपी कार्यक्रममा अर्जुनधारा नगरपालिका, स्थानीय नागरिक, सहकारी, व्यवसायिक संघसंस्थाको लागत साझेदारीको संरचनामा छुट्टै संस्था गठन गर्न कार्य विधि निर्माण गरिने बताए ।

यसमा संघ, प्रदेशबाट आउने अनुदान पनि समावेश गरि सेवा प्रदान गरिने हुँदा आम नागरिकमाझ समानुपातिक तथा न्यायोचित ढंगबाट वितरण हुनेमा आफू विश्वस्त रहेको बताए ।

सामाजिक विकासतर्फ नगरले ल्याएको योजनाका बारे जानकारी गराउँदै शिक्षामा ‘नानीसँग ज्ञानी’ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

‘नानीसँग ज्ञानी’ कार्यक्रम अन्तर्गत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न विषय विज्ञ तथा पेशाकर्मीहरु (डाक्टर, इञ्जीनियर, सफल व्यवसायी, प्रहरी प्रशासनका प्रमुख, जनप्रतिनिधि, खेलाडी र सफल कृषक आदि) लाई मासिक रुपमा एक दिन उपस्थित गराई अनुभव आदानप्रदान तथा उत्प्रेरणामूलक कक्षा सञ्चालन गर्ने योजना रहेको बताए ।

उनले विद्यार्थीहरुका लागि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुलाई नगर क्षेत्रमा रहेको महत्वपूर्ण प्राकृतिक सम्पदा अवलोकन भ्रमण गराउने र नगर अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया, छलफल, व्यवहारिक सिकाइ गराउँदै आत्मविश्वास तथा क्षमता विकासमा टेवा पुग्ने लक्ष्यका साथ वर्षमा न्यूनतम् ३ दिनको नगरस्तरीय आवासीय भ्रमण विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र विद्यालय प्रशासनको संयोजनमा गरिने समेत बताए ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि शिक्षक, अभिभावक र जनप्रतिनिधि बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने पनि योजना रहेको उनले बताए ।

स्वास्थ्य क्षेत्रमा नगरले सबै नागरिक स्वास्थ्य रहुन् भन्ने उद्देश्यले अति विपन्न, विपन्न, मजदुर, किसान, दीर्घरोगी गरि करिब ३५ सय घर परिवारलाई साझेदारीमा स्वास्थ्य बीमा गरिने लक्ष्य लिएको जानकारी गराउँदै खुदुनाबारीमा मेडिकल अधिकृत सहितको सेवा प्रदान गर्दै स्वास्थ्य बीमाको औषधी विस्तार गर्ने, शनिश्चरेमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई प्राथमिक नगर अस्पतालको रुपमा विकास गरिने, वडा–वडामा रहेको स्वास्थ्य केन्द्रमार्फत बीमा औषधीको व्यवस्था गर्ने, अर्जुनधाराको शनिश्चरे आयुर्वेद औषधालयलाई स्तरोन्नति गरि, खुदुनाबारी र शनिश्चरे क्षेत्रमा पनि आयुर्वेद औषधालयको विस्तार गर्ने लक्ष्य रहेको बताए ।

युवा, खेलकुद तथा कला, साहित्य, संस्कृति अन्तर्गत बेरोजगार, अर्धरोजगार तथा रोजगार युवाहरुको लगत संकलन गरि रोजगारको व्यवस्था मिलाउन जोड दिने, ‘एक वडा एक युवा उद्यम’ सञ्चालन गरिने, प्रत्येक वडामा व्यायमशाला स्थापना गर्ने योजना साविकका गाविसहरुमा पुग्ने गरि ३ वटा कभर्ड हल स्थापन गरिने उद्देश्य रहेको बताए ।

यसै गरि वडा–वडाबाट खेलकुद तथा साहित्य संस्कृतिका प्रतिस्पर्धीको छनौंट नगर महोत्सवमा सहभागि गराइ प्रतिस्पर्धा गराउने, नगरको पहिचान झल्काउने गरि संग्राहलय निर्माण गर्ने, जातीय संस्थाहरुको अगुवाईमा भाषा, लिपीहरुको अनौपचारिक शिक्षा प्रदान गर्ने, परम्परागत सीप र पेशालाई संरक्षण, प्रवद्र्धनमा आवश्यक व्यवस्था मिलाउने, असंगठित कृषि, निर्माण, खोला मजदुरहरुको दुर्घटना बीमाको व्यवस्था मिलाउने समेत बताए ।

यसरी नै प्रत्येक वडामा ५÷५ किलोमिटर समेत ६० किलोमिटर सडकको स्तरोन्नित र २÷२ किलोमिटर समेत २५ किलोमिटर कालोपत्रे बहुवर्षिय योजना अन्तर्गत निर्माण प्रक्रिया अगाडि बढाउने योजना रहेको बताए ।

नगर गौरव योजना अन्तर्गत भित्री तथा बाहिरी रिङरोडलाई निरन्तरता दिने, शनिश्चरे चौक बजारलाई सौन्दरीकरण गर्ने, एकीकृत आवास योजना सञ्चालन गर्दै लैजाने लक्ष्य रहेको सचिवालय प्रमुख रानाले जानकारी दिए ।

विपद व्यवस्थापन अन्तर्गत कोभिड–१९ लाई मध्यनजर गर्दै नगरवासीको हितमा विभिन्न कार्यक्रम अगाडि सारिएको जानकारी गराउँदै नदी कटान, हात्ती पीडित क्षेत्र र सम्भावित विपदलाई व्यवस्थापन गर्ने, स्वच्छ खानेपानीको पहुँच पुर्यायउन आवश्यक पहल गर्ने, जरुवा संरक्षण अन्तर्गत पानी भण्डारको व्यवस्था मिलाउने बताए ।

सचिवालय प्रमुख रानाले नीति कार्यक्रमको लक्ष्य प्राप्त गर्नका लागि कार्यान्वयन गर्न सबै वडा कार्यालय तथा विषयगत शाखा कार्यालयलाई प्राथमिकताको आधारमा समानुपातिक ढंगबाट बजेट विनियोजन हुने समेत जानकारी गराएका थिए ।