चार राजनीतिक दलले बुझाए ज्ञापनपत्र « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

चार राजनीतिक दलले बुझाए ज्ञापनपत्र


यलम्वर टाइम्स
२० असार २०७७, शनिबार ०२:३९

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रका ४ क्रियाशिल राजनीतिक दलले नगरपालिकाका प्रमुख हरिकुमार रानालाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त रुपमा हस्ताक्षर गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भनिएको छ, २०७७÷०७८ का लागि विनियोजित बजेट नगर केन्द्रीत भएको जनाउँदै बजेट निर्माण गर्ने कार्यमा षडयन्त्र भएको हुँदा गम्भीर ध्यानाकर्षण गर्न गर्दछौं ।

नगरको बजेट कस्तो बनाउने भन्ने विषयमा दलसँग परामर्श नगरी, राय सुझाव नमागि नगर सभा उद्घाट तथा सञ्चालन गरिनुलाई अलोकतान्त्रिक विधि भएको बताएका छन् ।

बजेट निर्माण तथा सिमाङ्कन समितिमा रहेका वडा नं. ८ का वडाध्यक्ष गोपी गौतमको समेत अधिकार कटौती गरि एकलौटी ढंगबाट बजेट निर्माण गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

संघीयताको मूल्यमान्यता र भावना विपरित बजेट निर्माण गरिएको भन्ने चार राजनीतिक दलको ठहर रहेको बताउँदै नगरभित्र अनेकौ बेतिथि, अनियमितता, खोलाजन्य सामग्रीमा भ्रष्टाचारको गन्ध आएको हुँदा सच्याउन ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, बाल शिक्षाका शिक्षकहरु र विद्यालय कमर्चारीलाई नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ । मागलाई सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने बताएको छ ।

ज्ञापनपत्र बुझाउँदै जनमुक्ति पार्टीकातर्फबाट प्रदेश सचिव कृष्णकुमार थेवेले गाउँसम्म आएको सिंह दरबारलाई पूर्ण कार्यान्वयन गर्न नगरपालिकालाई अनुरोध गरे ।

समाजवादीका सृजलाल चौधरीले बजेट निर्माण गर्दा सबै पक्षलाई समेट्न आग्रह गरे । प्रजातन्त्र पार्टीका लवकुश गिरीले बजेटले सर्वपक्षीय ढंगलाई सम्बोधन गर्न आग्रह गर्दै नगरमा देखिएका बेथिति अन्त्य गर्न माग गरे ।

नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले लोकतान्त्रिक विधिलाई स्वीकारर्दै जनताको भावना र मर्म अनुसार अगाडि बढ्न सुझाए ।

खरेलले अगाडि भने, ‘लोकतन्त्र स्थापना गर्न चुकाएको मूल्य र मान्यतालाई सम्बोधन गर्न सकिएन भने अराजक पैदा हुन्छ । त्यसैले नगर एक्लै आफू खुशी नीति तथा कार्यक्रम बनाएर अगाडि नबढ्न अनुरोध छ ।’

कार्यक्रममा महिला नेतृ सरस्वती गोले सिटौलाले नगरका कर्मचारीले सर्वसाधारणलाई दुःख, कष्टसँगै हप्काएका विषयलाई आक्रोश व्यक्त गरिन् ।

जनताको तिरोबाट सञ्चालित कर्मचारी संयन्त्र सर्वसाधारण जनतालाई समान व्यवहार गर्न अनुरोध गरिन् । नगरका कर्मचारीहरुले सर्वधारण जनतालाई हप्काएको कुरा जनप्रतिनिधिहरुले राख्छन् भने त्यस्ता कर्मचारीलाई कारवाही गर्नुपर्ने नेतृ गोले सिटौलाले अनुरोध गरिन् ।

कार्यक्रममा ज्ञापनपत्र बुझ्दै नगर प्रमुख हरिकुमार रानाले स्थानीय तह सञ्चालन नियमावली अध्ययन गरेर आइदिए आभारी हुने बताए ।

आउने नीति तथा कार्यक्रम नगरवासीकै हित र उन्नतिको लागि भएको जानकारी गराउँदै कोभिड–१९ को संकट पश्चात् पनि नगरवासीका लागि रचनात्मक नीति तथा कार्यक्रम आएको जानकारी दिए ।

नगर प्रमुख रानाले अगाडि भने, ‘वडामा पठाइएका सिलिङ वडा योजना हुनुपर्नेमा सिलिङ लेखिएकोले नीति तथा कार्यक्रममा योजना भएर अगाडि ल्याइएको हो ।’

उनले भने जस्तो पर्याप्त रकम नभए पनि नगरको विकास हुनमा सर्वप्रथम वडाको नाम रहन जान्छ । वडालाई अगाडि नबढाएसम्म नगरवासी समृद्ध हुन सक्दैनन् । त्यसैले चार राजनीतिक दलबाट पेसिएको सुझाव नगरपालिकाको विकासका लागि मार्गचित्र हुन सक्ने बताउँदै दलहरुलाई धन्यवाद दिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका मजदुर नेता दिपक तामाङ, महिला नेतृ चन्द्रकला भण्डारी, नगर महिला अध्यक्ष लिला कटुवाल, मिश्राकुमारी राई, पम्फा विक, जनमुक्तिका नगर अध्यक्ष दिलीप राई, संघीय परिषद सदस्य राज खालिङ, नगरका क्या. शिवकुमार राई, नगर सचिव भुपाल राना मगर, तिलसिंह माङ्मु लगायतका नेताहरुको सहभागिता थियो ।

नगर सचिव मुक्ति सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सयौंभन्दा बढीको सहभागि रहेका थिए ।