बजार अनुगमन कसले गर्ने ? « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

बजार अनुगमन कसले गर्ने ?


यलम्वर टाइम्स
१४ असार २०७७, आईतवार ०३:२२

कोरोना महामारीलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता सबै क्षेत्रबाट गम्भीर भइरहेको बेला व्यापारीहरुको मनखुशी बिक्री वितरणले उपभोक्ताहरु मारमा परेका छन् । स्थानीय सरकार तथा वडाले मूल्य सूचि एक कदम अगाडि टाँसेर सहजता अपनाउन अनुरोध गर्दा पनि अझै झापाका केही बजारहरुमा मूल्य सूचि टाँसेको देखिन्न ।

वडा तथा स्थानीय सरकार विदेशमा रहेकाहरुलाई स्वदेशमा आउँदा उनीहरुलाई राख्ने व्यवस्थामा केन्द्रीत छ । यसतर्फ ध्यान पुर्याउनु उचित छ । तर, यो सँगसँगै वडा तथा स्थानीय सरकारले आफ्ना नागरिकलाई ठगिनबाट जोगिनका लागि बजार अनुगमन गर्न पनि जरुरी रहेको छ । कालो बजार भनेको असहज परिस्थितिमा नै हुने हो । यस्तो असहज परिस्थितिमा भएका सामग्री पनि लुकाएर कृतिम अभावको अवस्था व्यापारीहरुले गर्ने र अधिक मूल्यमा बिक्री वितरण गर्ने हुँदा सरकारले आफ्नो नजर त्यसतर्फ पनि पुर्याउनु पर्ने हुन्छ ।

प्रायः बजार तथा अनुगमन बजार क्षेत्रमा मात्र हुने गरेको छ । खाली देखाउन र आँखामा धुलो हाल्नकै लागि मात्र गरिने यस्ता अनुगमनले कुनै औचित्य नराख्ने हुँदा आफ्ना नागरिकलाई ठगिनबाट जोगिनका लागि अब गाउँ–गाउँका पसलहरुमा पनि अनुगमन गर्न जरुरी रहेको छ । यसका लागि नगरले आफ्ना वडा कार्यालयलाई निर्देशन जारी गरि वडाले नियमन गर्न जरुरी छ । तबमात्र आम नागरिकले सरकार गाउँघरमै आएको महशुस गर्नेछन् ।