अर्जुनधारा पनि उच्च जोखिममा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

अर्जुनधारा पनि उच्च जोखिममा


यलम्वर टाइम्स
२३ जेष्ठ २०७७, शुक्रबार ०४:२६

[लीला राई]

अर्जुनधारा । अर्जुनधारा नगरपालिकालाई कोरोना मुक्त क्षेत्र घोषणा गर्न सक्रिय भए पनि भारत लगायत विभिन्न क्षेत्रबाट आउने अर्जुनधारावासीकै कारणले अर्जुनधारा नगरपालिका पनि उच्च जोखिममा रहन पुगेको छ ।

अर्जुनधारा–४ मा रहेको क्वारेन्टिनमा मान्छे राख्ने ठाउँ अपुग भएपछि शनिश्चरे माध्यमिक विद्यालयलाई क्वारेन्टिन बनाए लगत्तै बाहिरबाट आउनेहरुको संख्या बढेको हुँदा जोखिम बढेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

शनिश्चरे माविमा ५० शैयाको क्वारेन्टिन निर्माण गरिए पनि हाल ४४ जना रहेका छन् । ती ४४ जनामध्ये १० जनाभन्दा बढी भारतबाट आएको हुँदा उनीहरुबाट अर्जुनधारा उच्च जोखिममा रहन पुगेको देखिन्छ ।

‘४–४ पटक र्यापीट परीक्षण गर्दा कोरोना नभेटिएको हुनाले हालै प्रवेश गरेका केही व्यक्तिबाट उच्च जोखिम हुन सक्ने अवस्था छ । त्यसलाई सतर्कताका साथ समाधानको बाटो खोजी रहेका छौं’ नगर स्वास्थ्य प्रमुख बस्नेतले भने ।

२ बालबालिका ९ महिला सहित बस्दै आएको क्वारेन्टिनमा आईतबार पीसीआर गरिने समेत जानकारी दिए ।

क्वारेन्टिनमा रहेकाहरुलाई दैनिक आदर्श ज्ञानका वाणी, मनोरञ्जन र बेलुका योग साधना प्रदान गरिदै आएको छ ।

आदर्श ज्ञानका वाणी अर्जुनधारा जलेश्वरधामका गुरु अग्नी सिग्देल, योग साधनाका लागि डा. रमेशानन्द पोखरेलले प्रदान गर्दै आएका छन् ।