सरकार स्वास्थ समाजका लागि अनुगमन समिति बनाउ « Yalambar Times
८ बैशाख २०८१, शनिबार

सरकार स्वास्थ समाजका लागि अनुगमन समिति बनाउ


यलम्वर टाइम्स
५ फाल्गुन २०७६, सोमबार ०८:५६

स्वास्थ समाज, दीर्घायू जीवनसँगै समृद्ध राष्ट्रका लागि संघीय सरकारले राष्ट्रमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि शंखघोष गर्दै हिडेको अवस्था छ । सफल सरकार बनाउन र सुखि नेपाली बनाउन हिडेको सरकारले आफ्नो मातहतमा रहेका प्रदेश सरकारसँगै स्थानीय सरकारलाई पनि अनुरोध गरेको छ । त्यही अनुसार स्थानीय सरकारपनि स्वस्थ्य पालिका बनाउन अग्रसर रहेको देखिन्छ ।

स्वस्थ्य समाज भाषण र नीतिमा नभइ कार्यान्वयनमा पनि जरुरी देखिन्छ । त्यसैले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पालिकाको सबै वडामा खाद्य अनुगमन समिति बनाउनु पर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने नितान्त आवश्यक रहेको देखिन्छ । स्थानीय स्तरको अनुगमन तथा न्याय सम्पादनको प्रमुख पालिकाको उपप्रमुख रहने भएको हुँदा त्यसको अनुगमन र समिति निर्माणमा सक्रियता देखाउनु पर्ने हुन्छ ।

समाज मनोरञ्जनतर्फ गइरहेकाबेला स्वस्थ्य जीवनशैलीमा मानिसको ध्यान जान सकिरहेको छैन । जुनदिन रोगले च्याप्छ र सताउँछ त्यसदिन ओखती खाने र डाक्टरसँग सल्लाह सुझाव लिन पुग्छौं । त्यस्ता कार्यलाई अन्त्य गर्न बजारमा पाइने खाद्य वस्तु कतिको उपयोगी र गुणकारी हुन्छ भन्नेतिर ध्यान दिन सकिरहेका हुँदैनौंं । त्यसैले पनि स्वस्थ्य समाज बन्न नसकिरहेको अवस्था छ ।

यी कुरालाई मध्यनजर गर्दै स्थानीय पालिका सरकारले गुण नियन्त्रण डिभिजन कार्यालयको निर्देशन अनुशरण गरेर प्रत्येक वडामा अनुगमन समिति निर्माण गरेर खाद्य अनुगमन गर्नुपर्ने आवश्यक देखिएको छ । आज बजारमा अखाद्य वस्तुको बिगबिगीले मानिस नसर्ने रोगको शिकार भइरहेका छन् । अर्जुनधारामा नसर्ने रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । गम्भीर रोगीहरुको संख्या सयभन्दा बढी छ । त्यस्तो कार्यलाई रोक्न र स्वस्थ्य समाज निर्माण गर्न स्थानीय सरकार सचेत हुन जरुरी छ ।