महिला चेतना सहकारीबाट महिला उद्यमीहरु नै सम्मानित « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

महिला चेतना सहकारीबाट महिला उद्यमीहरु नै सम्मानित


यलम्वर टाइम्स
२६ पुष २०७६, शनिबार ०४:१०

अर्जुनधारा । महिला चेतना बहुउद्देश्यीय सहकारीले आफ्नो १६ औं वार्षिक साधारण सभामा सहकारीमा आबद्ध उद्यमी तथा उत्कृष्ट निक्षेपकर्ताहरुलाई सम्मान गरेको छ ।

अर्जुनधारा–७ स्थित गुरागाई भवनमा आयोजित कार्यक्रममा उद्यमीतर्फ अम्बिका मगर, रोहिणी गौतम, झलककुमारी मोक्तान, यामकुमारी मानन्धर, शान्ता तामाङ, नर्बदा बस्नेत, दिलकुमारी घिसिङ, देवीमाया सञ्जेल, अनिता राई र कल्पना उपरकोटी रहेका छन् । यसरी नै निक्षेप तर्फ मिना दनुवार, बछालादेवी रिमाल, इन्दिरा दवाडी र राधा देवी पौडेल रहेका छन् ।

चेतनाको १६औं साधारण सभा कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संस्थाका सचिव युवराज ढकालले आय आर्जन कार्यमा महिलाप्रति उत्तरदायी भई महिलालाई उद्यमशिलता साथै कृषिमा डो¥याउँन सफल भएको बताएका छन् ।

बृहत शेयर सदस्य सहभागी भएको कार्यक्रममा संस्थाकी अध्यक्ष निलाकुमारी दाहालले वर्षभरी गरेको कार्यक्रमका बारे जानकारी गराउँदै आयमूलक कार्यक्रममा संस्थाको ध्यान केन्द्रित हुने जानकारी गराईन् ।

उनले अर्जुनधारा– ७ स्थित ११ का १४ धुर जमिन खरिद गरेको जानकारी गराउँदै १५ औं वार्षिक साधारण सभाले पारित गरेको मितिलाई सम्बोधन गर्दै आएको समेत बताइन् । दाहालले शेयर पूँजी १ करोड ६१ लाख ५७ हजार १ सय २१ रहेको समेत बताइन् ।

सभामा व्यवस्थापक उमा थापाले बचत गतवर्ष ३ करोड ९२ लाख ३४ हजार ८ सय २५ हुँदै ०७६ असार मसान्तसम्ममा ४ करोड ९७ लाख, ४२ हजार, ७ सय ५८ रहेको जानकारी गराइन् ।

उनले असार मसान्तसम्म शेयर संख्या ४ सय ४० थप गरी २ हजार १ सय १४ जना बीच कारोबार गर्दै आएको समेत बताईन् ।

संस्थाले शेयर सदस्यमा पर्न गएको अप्रिय घटनामा ५ हजार र सुत्केरी पोषणमा १ हजार ५ सय, विषालु सर्पको टोकाईमा ३ हजार, दैविक विपत्तिमा ५ हजार सहयोग गर्दै आएको समेत बताइन् ।

सदस्यको योगदानमा आधारित उपचार कोष समेत स्थापना भएको बताउँदै प्रत्येक सदस्यबाट रु. २ हजार संस्थामा सञ्चित गरे गम्भीर प्रक्रियाको रोग मृर्गौला, क्यान्सर र पाठेघरमा समस्या आइ शल्यक्रिया गर्नु परेमा रु. २५ हजार र १५ हजार उपचार रकम प्रदान गर्ने समेत व्यवस्थापक थापाले जानकारी गराइन् ।

संस्थामा आवद्ध कृषकहरुको पेसालाई मध्यनजर गर्दै सम्बन्धित निकायमा समन्वय गरी कृषकले लगाएको वाली क्षति हुनबाट जोगाउन वाली वीमा गराउने, शेयर धनीलाई मुनाफाको १७ प्रतिशत शेयर लाभाशं वितरण गरिने, पूँजी कोषमा भएको रकमलाई बचतमा ४० प्रतिशत ऋणमा ६० प्रतिशत छुट्याई सदस्यको बचतमा लिएको तथा ऋणमा तिरेको व्याजको आधारमा सुविधा विस्तार गरिने जस्ता कार्य रहेको जानकारी गराइन् ।

कार्यक्रममा दैविक प्रकोप व्यवस्थापनका अध्यक्ष केदार पराजुली, लालिगुँरास महिला समुहका अध्यक्ष मेनुका पौडेल, जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेल, वाणगंगा सहकारीका अध्यक्ष चन्द्रकला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा कृषि शाखा अर्जुनधाराका दिपक गिरी, स्वरोजगार भवानी बचतका भोला परियार, प्रेमबहादुर कार्की, ज्ञानु थापा, कमल सुवेदी, पुनम सुवेदी, चिरञ्चिवी शिवाकोटी, अमरबहादुर कटवाल, गंगाराम महत, देवीप्रसाद बराल, डिल्लीराम घोर्साई, कृष्णप्रसाद चापागाई लगायत सहकारी अभियन्ताहरुको आतिथ्य रहेको थियो ।

निलाकुमारी दाहालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वता भट्टराई र सञ्चालन सचिव गिता अधिकारी गरेकी थिइन् ।