नेतृत्व निर्माणको पहिलो जग जेसीज « Yalambar Times
८ बैशाख २०८१, शनिबार

नेतृत्व निर्माणको पहिलो जग जेसीज


यलम्वर टाइम्स
१५ पुष २०७६, मंगलवार ०५:१६

[भास्कर भट्टराई]

जेसीज उद्देश्य र दर्शनका साथ साथै आफ्नो आस्था मार्फत मार्गदर्शित भईरहेको हुन्छ । जेसीज आस्थाका संस्थापक C.Willam Brownfield का अनुसार “प्रत्येक जेसी आफ्नो विवेक अनुसार जेसीज आस्थाको व्याख्या गर्न पूर्ण स्वतन्त्र छ, मेरो भनाइमा यसको जस्तो अर्थ लाग्दछ त्यसको व्याख्या मैले गर्नु पर्दा म आफ्नो लागि मात्र बोलिरहेको हुन्छु” । सन् १९१५ अक्टवर १३ का दिन Henry Giesenbier र उनका अन्य ३२ साथी मिलेर सामाजिक क्षेत्रमा कार्यरत रहन Young Men’s Progressive Civics Association (YMPCA) भन्ने संस्थाको शुरुवात गरे । यसै दिनलाई विधिवत जेसीज संस्थाको स्थापना दिवसको रुपमा लिइन्छ । यसै गरी अन्तर्राष्ट्रिय जेसीज स्थापनाकालको ४९ वर्ष पछि सन् १९६४ मा डा. भेषबहादुर थापाको नेतृत्वमा नेपालमा जेसीजको स्थापना भएको थियो । नेपाल जेसीजको ३९ औं महाधिवेशन मार्फत वीरता जेसीजको मातृत्वमा तथा जेसी ईन्दिवर खड्का को नेत्तृत्वमा सन् २०१२ मा अर्जुनधारा जेसीजको स्थापना भएको हो ।

जेसीज अभियानका बारेमा जान्नु पूर्व जेसीजको उद्देश्य र दर्शन बुझ्न आवश्यक रहन्छ । विभिन्न विकासका अवसरहरुद्वारा युवा शसक्तिकरण गर्दै सकारात्मक परिवर्तन गर्नु नै जेसीजको उद्देश्य हो । अर्थात युवाहरुलाई विभिन्न सामाजिक तथा व्यक्तिगत जिम्मेवारीमा सामिल गराई व्यक्तित्व तथा नेत्तृत्व विकासका तालिममा मार्फत क्षमता अभिवृद्धि गराउने तथा परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बनाउनु हो । साथै, सक्रिय युवाहरुको नेतृत्वदायी विश्वव्यापी संजाल निर्माण गर्ने दर्शन जेसीजले लिएको छ ।

जेसीज भनेको के हो ? जेसीज सामाजिक संस्था हो वा होइन भन्ने प्रश्न उठ्छ र होइन भने के हो ? अन्य राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था र जेसीजमा के फरक छ ? यस्ता प्रश्नहरु निरन्तर रुपम उठ्दै आएको छ । यी प्रश्नहरुका बारेमा जेसीजका नयाँ सदस्यहरु, जेसीजको सदस्यता नलिएका समाजका विभिन्न क्षेत्रका मानिसहरुमा अन्यौलता रहेको पाइन्छ । माथिका प्रश्नहरुको जवाफ दिँदा, जेसीज भनेको १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो । अर्थात, यो प्रत्यक्ष रुपमा सामाजिक विकासप्रति समर्पित संस्था होइन । यो संस्थाको केन्द्रविन्दू व्यक्ति (मानिस) हो । सामान्य अवस्थामा जन्मले कोहि पनि सक्षम वा असक्षम हुँदेैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ तर उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ ।

जेसीजले आफ्ना सदस्यहरुलाई विभिन्न सामाजिक कार्यक्रम र तालिम मार्फत उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई व्यक्तित्वको विकास गरी परिवार, समाज र राष्ट्रलाई नेतृत्व दिन एक असल र सक्षम नागरिक उत्पादन गर्दछ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो जुन संसार भर जेसीज अभियानले पनि परिचित रहेको छ । समष्टिगत रुपमा जेसीजले मानवीय विकासमा बढि जोड दिएको छ । अतः मानिसहरुको अन्तरनिहीत क्षमताको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकसित हुन्छ ।

जेसीज एक असल नियत र उत्कृष्ट विचार राखेर स्थापित भएको संस्था हो । यसलाई युवाहरुको क्षमता अभिवृद्धि गराउन स्थापित गरिएको तालिमको विश्वविद्यालयको रुपमा पनि चिन्ने गरिन्छ । तथापी बदलिदो समय क्रम सँगसँगै जेसीजको उद्देश्य र दर्शनमा फिकापनको अनुभूति गर्न सकिन्छ । यहाँ आस्था, विचार र क्षमताको मुल्याङ्कन नभइ बल मिच्याँइ र दम्भ हावी भईरहेको देखिन्छ । तालिम र कार्यक्रम सञ्चालन गरेर आफ्नो क्षभता अभिवृद्धि गराई नेत्तृत्वमा पुग्नेभन्दा आर्थिक रवाफ र बल मिच्याँइ हावी भएको छ । कतै कतै जेसीज अभियानमा लागेका युवाहरुलाई वर्षमा २–३ महिना मात्र जेसीज लाग्ने गर्दछ । जसका कारण जेसीज अभियानमा जोडिएका कर्तव्य निष्ठ युवाहरुलाई निरासा तर्फ धकेलिरहेको छ ।

कुनै पनि सामाजिक संस्था अथवा संरचनाका सकारात्मक र नकारात्क पक्ष रहनु स्वाभाविक हो । जेसीजले अफ्ट्यारा र चुनौतिसँग लड्न सक्ने क्षमता विकासमा विषेश जोड दिएको पनि छ । त्यसैले जेसीज भित्र रहेका चुनौतिको सामना गरि सु–संस्कृत संस्थाको निर्माण गर्न हामी आफैंबाट सुरुवाट हुनु पर्दछ । साथै भविष्यमा आउन सक्ने चुनौतिहरुको पूर्व आंकलन गर्दै जेसीज अभियानमा जोडिने नयाँ युवाहरुको क्षमता विकास गरिनु अपरीहार्य रहेको छ ।

निष्र्कषमा भन्नुपर्दा जेसीजले युवाहरु जेसीज मित्रबाटै विभिन्न अवसरहरु उपलब्ध गराईरहेको हुन्छ । यस अर्थमा जेसीजलाई ीभबचलष्लन दथ मयष्लन को प्रकृयाबाट सञ्चालित अनौपचारिक विद्यालय पनि भन्न सकिन्छ, अर्थात जेसीज १८ देखि ४० वर्षका युवाको विश्वविधालय हो जहाँ गरेर सिक्ने प्रकृयाबाट व्यक्तित्व र नेतृत्व क्षमताको बिकास गराइन्छ । यस अर्थमा जेसीजको आफनो छुट्टै पहिचान छ र यसलाई अन्य कुनै संस्थासँग तुलना गर्न वा दाज्न सकिन्दैन । औपचारिक विश्वविधालयमा प्राप्त गर्न नसकिने कतिपय व्यवहारिक ज्ञान जेसीजमा प्राप्त गर्न सकिन्छ । जसबाट जेसीजका सदस्यहरु लाभान्वित भई आफ्नो पेशा व्यवसायलाई राम्रो ढंगले सञ्चालन गरी सफालता प्राप्त गर्न सक्दछन् । यसका साथ साथै जेसीजले आफनो सदस्यहरुलाई आफू बस्ने समाज प्रतिको दायित्व बोध गराई विश्वको विकासमा सहभागी गराउँछ । तथ्य तथा जानकारीहरु विभिन्न पाठ्य सामग्रीबाट संकलन गरिएको ।

भास्कर भट्टराई