भ्रस्टाचार र नैतिकता « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

भ्रस्टाचार र नैतिकता


यलम्वर टाइम्स
१४ पुष २०७६, सोमबार ०७:२५

हिजोआज हाम्रो मुलुकमा भ्रष्टाचारको चर्चा खुब चलेको छ । सरकारी कार्यालयको सामान्य मालसामन खरिददेखि लिएर ठूल्ठूला ठेक्का पट्टसम्ममा भ्रष्ट आचरण देखियो भन्दै चर्चा उठ्ने गरेको छ । उसै बेला कतै घुससहित प्रहरी पक्राउ पर्छन् त कतै कर्मचारीहरु पनि । त्यसैमा नगर प्रमुख मुसिन्छन्, त्यतिमात्र होइन सांसदहरु पनि मिलेभगतमा छन् भन्ने चर्चा आउँछ । यतिका चर्चा आउँदा आरोपितबाट न त खण्डन हुन्छ, न त आरोपितलाई सजाय ? ति दुवै कार्य नहुँदा भ्रष्टाचार मौलाउँदै गएको हो कि भन्ने आम मानिसको बुझाइ छ ।

सरकारी कार्यालयमात्र होइन गाउँ, बस्तीको कुनै विकास निर्माण गर्ने समितिबाट पनि कुलेकुलेसो र बाटोघाटो बनाउँदा पनि भ्रष्टको गन्ध आयो भन्ने गर्छन् । कारवाही गर्ने त प्रमाण पुग्दैन तर हुन्छ त्यस्तै । सामान्य जनताले भ्रष्टाचार भयो भन्ने चर्चा उठाउँदा ति जनतामाथि नाना थरिका आरोप थुपारेर गाउँ टोलमा एक्लो बनाइन्छ । त्यसो हुँदा जनता तर्सिनु पनि स्वाभाविक नै हो । सर्वसाधारण जनतालाई त्यस्तो आक्षेप र दुव्र्यवहार हुन्छ भने बहुसंख्यक अशिक्षित व्यक्तिहरुलाई कस्तो व्यवहार होला ?

चाहे जे होस् जिम्मेवार व्यक्तिमा नैतिकता रह्यो भने भ्रष्टाचारको कुनै गन्ध आउँदैन । त्यसैले नैतिकता पोली खाने व्यक्तिबाट नै भ्रष्ट आचरण पैदा भई भ्रष्टाचार गर्ने र भ्रष्टचारीलाई बचाउ अभियानमा लाग्ने गरेको देखिन्छ । एक पटक पाएको अवसरलाई गुमाएर भ्रष्ट आचरणमा ढुब्ने हो भने, त्यसको नैतिकता पुनः उठ्न सक्दैन । त्यसैले सानो–ठूलो जस्तो सुकै पदमा होस् नैतिकता इमानदारितालाई ठीकमा राखेर अगाडि बढ्ने हो भने विकास निर्माणसँगै समाज निर्माणमा पनि फड्को मार्ने छ । हाम्रो शक्ति छ, जे गर्न पनि सकिन्छ भन्ने सैदुवा तर्क राखेर हिंड्ने हो भने दुई तिहाइको सरकारलाई वडा र पालिकाबाटै घुनपुतली लाग्ने देखिन्छ । त्यसप्रति सचेत रहन सम्बन्धित निकायले ख्याल गर्नुपर्छ ।