संस्कृति संरक्षणका लागि ‘होमस्टे’ « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

संस्कृति संरक्षणका लागि ‘होमस्टे’


यलम्वर टाइम्स
१४ पुष २०७६, सोमबार ०७:०८

[कमलसिंह चौधरी]

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा थारु होमस्टे सञ्चालनमा आएको छ । यो होमस्टे रुपन्देहीकैं पहिलो रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । सेमरी गाउँ तिनाउ नदीको किनारमा अवस्थित छ ।

होमस्टेको एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । त्यस अवसरमा थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

थारु समुदायको कला र संस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले होमस्टे सञ्चालनलाई नगरपालिकाले प्रवद्र्धन गरेको नगर प्रमुख घिमिरेले बताए ।

तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए । आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गरिने उनले बताए ।

होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए ।

थारु समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकैं पुरानो मध्येको बस्ती हो । पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरुले समेत यहाँ सेल्टर लिएको यहाँका पुराना पाका पुस्ता बताउँछन् ।

तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले थारु समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गरिन् ।

उनले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् । तिलोत्तमा नगरपालिकाले थारु समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए ।

नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन् । सेमरीका बासिन्दाहरु अमलटारी होमस्टे सञ्चालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरुलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो ।

सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्म लगायत छन् ।