भौतिकवाद, आध्यात्मिक चेत र अर्जुनधारा धाम

[कुमार भट्टराई]

सधैं झैं दश बर्षअगि पनि पनि अर्जुनधारा जलेश्वर धाममा विशाल धार्मिक अनुष्ठान सम्पन्न भयो । सत्ताइसौं अनुष्ठान भएको दश दिनको समयमा देश–विदेशबाट लाखभन्दा बढीको संख्यामा धार्मिक तथा अन्य पर्यटकहरु यहाँ भित्रिए । धामप्रति विश्वास बोकेर भाकल गर्नेहरु, पितृहरुलाई कैलाशबासको प्रार्थना गर्नेहरु, कला, सुन्दरता र सौम्यताको दर्शन गर्न समेत यहाँ मान्छे आएका थिए । कोही प्रेमको ‘डेटिङ’का लागि त कोही यौन पिपासु आँखा लिएर पनि आएका थिए । पकेट मार्न, लुट्न पनि कोही आए । कोही व्यापारी भएर आए, कोही भिखारी भएर । कोही दिन आए, कोही लिन आए । जो–जो आए केही न केही गर्नकै लागि आए । विना उद्देश्य कोही यहाँ आएनन् ।

तिनै मध्येहरु बीच उद्घाटनका दिनबाट प्रमुख अतिथिका रुपमा लगातार हप्ता दिन वेदान्त दर्शन दिनका लागि १००८ स्वामी रामानन्द गिरीजी महाराज पनि आउनु भयो देवघाटबाट । मान्छेको बसाइका क्रममा उनीहरुलाई दिनु पर्ने कुरा के–के छन् र कसरी दिनुपर्छ भन्ने सहजकर्ताको जस्तो सरल मिजास र भाषा भएका स्वामीले प्रदान गर्नुभएको वेदान्त दर्शनबाट आ–आफूलाई चाहिएका वस्तुहरु प्राप्त गर्न विभिन्न तह र तप्काका समुदायको उपस्थिति पनि उल्लेखनीय थियो ।

प्रवचनको एक दिन स्वामीजीले भन्नुभयो– ‘जुन सुकै द्वन्द्वात्मक भौतिकवादीले पनि आफ्नी श्रीमतीलाई भने माया गर्छ ।’ म सोचिरहेको थिएँ, श्रीमतीलाई माया गर्नुसँग आत्यात्मिक चेत हुनुको के अर्थ छ ? उहाँले नै त्यसलाई प्रष्ट पार्नु भयो । ब्याख्या गर्नुभयो– ‘ईश्वर मान्दिनँ भन्नेहरु आफूलाई नास्तिक भन्छन्, उनीहरु भौतिकवादी हुँ भन्छन् र सबैलाई भौतिक वस्तुको रुपमा हेर्नुपर्छ भन्छन् । त्यसैले ईश्वरलाई गर्नुपर्ने माया पनि श्रीमतीलाई नै खन्याउँछन् । तर त्यहाँ पनि उनीहरुले ईश्वरलाई नै मानिरहेका हुन्छन् । किनकि आत्मा भनेको ईश्वर हो । यदि भौतिकवादीहरुले ईश्वर नमान्ने भए आत्मा निस्किसकेको श्रीमान् वा श्रीमतीको अथवा भनौं कोही पनि प्रियजनको शरीरलाई अग्नीमा जलाउने वा गाड्ने थिएन ।’

उहाँले कति सरल र सजिलै रुपमा आत्यात्मिक चेतको ब्याख्या गर्नुभएको थियो । सायद त्यही बुझेर होला आफ्ना कति भौतिकरुपमा व्यस्त रहेको समयलाई पाखा पन्छाउँदै धेरै बौद्धिक व्यक्तित्वहरु समेत लगातार सात दिनसम्मको दिउँसो दुईदेखि चारबजेसम्मको समय अर्जुनधारा धामलाई छुट्याएका थिए ।

पूर्वको पशुपतिनाथ मानेर पनि शनिश्चरे–अर्जुनधारा क्षेत्रका कतिपय मान्छेहरु भौतिकवादका मात्र कुरा गर्नेहरु नभएका होइनन् । आत्यात्मिक चेतलाई संस्कार र क्षेत्र विकासको रुपमा मात्र ग्रहण गरेर आध्यात्मिक आस्थालाई गौण मान्नेहरु पनि नभएका होइनन् । पैसासँग आस्था साँटेर सिमेन्ट र ढुङ्गाको थुप्रोमा आफ्नो भविष्य खोज्नेहरु नभएका पनि होइनन् । तर तिनीहरु पनि स्वामीजीले भनेझैं प्राण भइञ्जेलमात्र शरीर रुँग्नेहरु मात्र हुन् ।

मेरो प्रातःकालीन हिंडाइ अर्जुनधारा जलेश्वर धामको परिक्रमाबाट शुरु हुन्छ । त्यसै क्रममा केही दिन अघि एक बिहान पौने पाँचबजेतिर एकजना धुरन्धर भौतिकवादी व्यक्ति आफ्नो परिवारका सदस्य सहित जलेश्वर धामको मन्दिर वरिपरी ‘ॐ नमः शिवायः, ॐ नमः शिवायः’ भन्दै दगुर्दै थिए । उनीहरुसँगै चुपचाप एउटा सेतो–सेतो देखिने कुकुर पनि घुम्दै थियो । मलाई हाँसो छुट्यो । दिनभरि त्यही परिसरमा घुम्दै आफू भौतिकवादी भएको व्यहोरा फलाक्ने मान्छे, मन्दिर खुल्नु अगावै अँध्यारैमा आध्यात्मिक चेतले ओतप्रोत भएर मन्दिरको परिक्रमा गरिरहेको छ । मलाई लाग्यो– ‘महाभारतमा कुकुर स्वर्ग पुगेको यसरी नै निःस्वार्थ भावले मान्छेकै पछि कुदेकाले पनि होला ।’

हामी मान्छेहरु ढोङ्गमा बाँचेका हुँदारहेछौं । देखिने कुरालाई सत्य मानेर भुल्न खोज्ने रहेछौं तर कुनै न कुनै माध्यमबाट आध्यात्मिक चेत छोड्न भने सक्ने रहेनछौं । किनभने हरेक वस्तु प्राणले बाँचेको हुन्छ, जुन अदृश्य हुन्छ । देख्न सकिन्न, तर त्यसले दिने प्रतिक्रियाबाट अनुभूति गर्न भने सकिन्छ ।

हामी मान्छेहरु ढोङ्गमा बाँचेका हुँदारहेछौं । देखिने कुरालाई सत्य मानेर भुल्न खोज्ने रहेछौं तर कुनै न कुनै माध्यमबाट आध्यात्मिक चेत छोड्न भने सक्ने रहेनछौं । किनभने हरेक वस्तु प्राणले बाँचेको हुन्छ, जुन अदृश्य हुन्छ । देख्न सकिन्न, तर त्यसले दिने प्रतिक्रियाबाट अनुभूति गर्न भने सकिन्छ ।

जीव स्वासरुपी प्राणले बाँच्छ भने स्थान आस्थारुपी प्राणले बाँचेको हुन्छ । ढुङ्गोमा ईश्वर देखेपछि त्यो बाँच्छ र त्यो ईश्वर देख्नेलाई त्यो ढुङ्गोले बचाउँछ । पशुपतिनाथमा पहिलो पटक ईश्वर देख्नेले त्यसमा प्राण हालेपछि आज त्यसले हजारौंलाई बचाएको छ । अर्जुनधारामा खडेबाबाले ईश्वर देखेपछि यो बाँचेको छ र यसले यस क्षेत्रलाई बचाएको छ । यस क्षेत्रलाई पहिचान दिएर बचाएको छ, विद्यार्थीलाई शिक्षा–दीक्षाले बचाएको छ, बेरोजगारलाई रोजगारीले बचाएको छ, आस्थावानलाई विश्वासले बचाएको छ, सामाजिक पहिचान खोज्नेलाई सामाजिक कार्यवोझ दिएर बचाएको छ ।

आध्यात्मिक दर्शन अनुसार आफ्नो आत्मा परमात्मासँग मिलेपछि बैकुण्ठबास हुन्छ । कति सरलरुप छ यसको । तर आफूलाई भौतिकवादी भन्नेहरु यसको अर्थ नबुझिरहेको देखिन्छ । किनभने एउटा व्यक्तिको विचार र अर्को व्यक्तिको विचार मिल्नु नै एउटाको आत्मा अर्कोको आत्मासँग मिल्नु हो । यदि सबैको विचार मिले जुनसुकै ठाउँ, क्षेत्र पनि बैकुण्ठ हुनसक्छ । तर हामी मान्छेको स्वभाव भनेको आफ्नो सहजता र आवश्यकताको खोजीमा मात्र व्यस्त भई दोस्रो व्यक्तिको भावनालाई अपब्याख्या गर्नमा व्यस्त रहेछ ।

त्यसैले होला कट्टर भौतिकवादीहरु हरेक कुरामा समस्या देख्छन् तर आध्यात्मिक चेतमा रमाउनेहरु हरेक वस्तुमा ईश्वर देख्छन् । जो ढोङ्ग गर्छन् उनीहरु, दिउँसो आध्यात्मिक चेतमा रमाउन खोज्ने राति अस्वस्थ भौतिक रासलीला लुकेर गर्छ, जो दिउँसो भौतिकवादका नारा फलाक्छ राति लुकेर दिनभरिको प्राश्चितको प्रार्थना गर्छ ।

जे सुकै भने पनि भौतिकवादीका लागि आध्यात्मिक चेत भनेको निराक्षरले गरेको व्यापार जस्तो रहेछ । जो लेखेर वा सैद्धान्तिक रुपमा कुनै हिसाब गर्न जान्दैन तर मौखिक रुपमा हिसाब भने कण्ठै छ ।

त्यसपालिको अर्जुनधारा अनुष्ठानले आध्यात्मिक चेतका बारेमा मलाई दिएको सन्देश भनेको महाभारतमा कृष्णले देखाएको विराटरुप रहेछ । ज–जसलाई जुन रुपमा पुग्नु छ त्यहींसम्मको देखिनेरहेछ । विराटरुपको दर्शन भनेको आध्यात्मिक अनुभूतिले सबैका रुपमा गर्नुपर्ने सम्मान रहेछ । तर ती रुपहरु पनि प्राण रहिञ्जेलमात्र महत्व रहेछन्, चाहे त्यो स्थान होस् वा जीव । त्यसमा रहेको आस्था वा प्राण निस्किसकेपछि त्यो मर्ने रहेछ । त्यो मृतलाई हामी उपभोगविहीन भएकाले फ्याल्ने रहेछौं । त्यो प्राण भइञ्जेल मात्र हो त्यसबाट उपभोग लिन सक्ने, त्योसँग बाझ्न सक्ने, घुक्र्याउन सक्ने । त्यसैले भौतिकवाद बाँच्न पनि नबुझिकनै पनि आध्यात्मिक चेत बाँचेको हुँदोरहेछ । [email protected]

कुमार भट्टराई

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd