बैरागी काइला नेपाली कविताले पाएको एक अनमोल रत्न « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

बैरागी काइला नेपाली कविताले पाएको एक अनमोल रत्न


यलम्वर टाइम्स
९ कार्तिक २०७६, शनिबार ०३:५१

[कृष्ण धराबासी]

कविता त म पहिल्यैदेखि लेख्थें तर ती कविता कस्ता थिए म आफैलाई पनि थाहा थिएन । बाक्लै गरि ती छापिएका पनि थिएनन् । कसैकसैले भन्थे दार्जेलिङमा तीन जना नेपाली कविहरुले एकदम नै नबुझिने कविता लेख्छन् । त्यस्तो सुन्दा मलाई अचम्म लाग्थ्यो । कसैले पनि नबुझिने कविता कस्तो हुन्छ होला ! र त्यस्तो कविताको के काम पनि ! पछि थाहा पाएँ ती तीन जना भनेका इन्द्रबहादुर राई, बैरागी काइला र ईश्वरबल्लभ रहेछन् ।

मैले धेरै नाम चलेका मध्ये एकजना कविलाई पनि देख्न पाएको थिइन । मैले लेखेका र चिनेका कविहरु भनेका सरोज ओली, शिवप्रसाद दाहाल, रोहिणीबिलास लुइँटेल, मदन ढकालहरु नै थिए जो मेरै शिक्षकहरु पनि थिए । उनीहरुका कविता नै सबैभन्दा राम्रा कविता हुन् भन्ने लाग्थ्यो मलाई । उसो त मेरा कविता पनि राम्रा छन् भनेर प्रोत्साहन भइरहन्थ्यो र म फुर्किन्थें पनि । त्यही फुक्र्याइले लेखक बन्न काम गर्यो पनि होला ।

एक पटक कसैले मलाई भनेको थियो, दार्जेलिङमा बैरागी काइला भन्ने एक जना कवि छन् । तिनले सेतो कागजमा शीर्षक मात्र लेखेर फररर कविता पढ्न थाल्छन् । यो झ्न् मेरो लागि आश्चर्यको कुरा थियो । कवि हुनु त जादुगर हुनु जस्तै गारो कुरा पो हो कि के हो ! जस्तो पनि लाग्न थाल्यो । अनि म पनि शीर्षक मात्र राखेर कविता पढ्न खोज्थें, कसरी हुनु ! भुराको रहर ।

पहिलोपल्ट परबाट मैले २०३७ सालमा बिर्तामोडमा भएको एउटा बहुदल पक्षिय जुलुसमा कुर्ता सुरुवाल र अस्कोट लगाएको अवस्थामा उनलाई देखें । बैरागी काइँला डबल सुब्बाको छोरा हुन् भन्ने पनि सुनेको थिएँ । पर खुदुनाबारीमा बस्ने, मोटो न मोटो मान्छे घोडामा चढेर शनिश्चरे बजारमा आउँदा मानिसहरुले घेरेको देखेको थिएँ । कहिले हरिबिलास वनको मिलको गद्दीमा, कहिले काशिनाथ कलुवारको गद्दीमा पनि बसेको देखिन्थ्यो । म केटाकेटी भए पनि मानिस चिन्न रुची राख्दो रैछु क्यारे । डबल सुब्बाको बारेमा बुबाले पनि कुरा गरेको सुन्थें । डबल सुब्बालाई देखेको, चिनेको र यिनी डबल सुब्बाका काइला छोरा हुन् भन्ने पनि सुनेकाले उनलाई पनि सानो सानो डबल सुब्बा नै देखें । जुलुसको भित्रभित्र हुँदै छेउछेउतिर गएँ । मलाई उनी कवि भएकाले बढी मन परेको थियो । म पनि कविता लेख्छु नि ! भन्न मन थियो तर भन्न सकिन । पहिलोपल्ट देख्दै आफन्तलाई देख्न पाएको जस्तो खुसी लाग्यो ।

त्यसको एक बर्षपछि होला हामी (दुबसु क्षेत्री, हरि मल्ल, हरि मिश्र, गौरीशंकर श्रेष्ठ, सुरेन्द्र बुढाथोकी अश्रु, शेखर अधिकारी आदि) मिलेर शनिश्चरेमा आदर्श साहित्यिक तथा साँस्कृतिक दोभान नामक संस्था खोलेका थियौं र त्यसको उद्घाटन बैरागी काइँलाबाट गराउने निर्णय गर्यौं । त्यसबेला उहाँ खुदुनाबारीमा बस्नु हुन्थ्यो । उहाँलाई बोलाएर ल्याउने जिम्मा दुबसुले लिएका थिए । दुबसुले निमावि खुदुनाबारीमै पढेको, उहाँहरुको छिमेकी र चिनिएको समेत हुनाले उनले बोलाउँदा मान्नु होला भन्ने लागेको थियो र दुबसु बाहेक हामी कसैको पनि चिनजान थिएन ।
साँच्चै नै उहाँ हाम्रो निम्तोलाई स्वीकार गरेर सजिलै आइपुग्नु भयो । उहाँ आइपुगेपछि हामीलाई अर्कै खाले धमाधमले छोप्यो । तर त्यो बर्ष उहाँ पिताजीको शोक बोकेको सेतो लुगामा हुनुहुन्थ्यो । त्यसैले प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन चाहिं नगर्ने हुनु भएपछि शनिश्चरेका पुराना कवि शिवप्रसाद दहाललाई प्रमुख अतिथि बनाएर संस्थाको उद्घाटन गरियो । मैले पहिलोपल्ट त्यही दिन बैरागी काइँलाको साहित्यिक भाषण सुने र छक्कै परें । त्यो दिन उहाँले धेरै थोक भन्नु भो तर आयामको बारेमा भनेकै कुराले मलाई धेरै तानेको थियो । त्यस्तो खासै कुरा त बुझिन तर साहित्यमा तीन आयाम, विचारको गहिराई, मोटाई, उचाईका बारेमा गरेको ब्याख्याले म एकोहोरिएको थिइँ । यस अघि म आचार्य रजनीशका बिचारहरुले अत्यन्तै प्रभावित भएको पात्र थिएँ । उहाँका कुराले मलाई फरक प्रकारले छोयो । अनि लाग्यो बैरागी कवि मात्र हैनन् विचारक पनि रहेछन् ।

म सिर्जनामा भन्दा बिचारमा बढी रमाउने हुन थालेका बेला उहाँको साहित्यिक भाषण सुन्न पुगेको थिएँ । म अब रजनीशको अध्यात्मिक तार्किक र बौद्धिक प्रभावभित्र तेस्रो आयामलाई पनि खोज्न थालें तर त्यसको लागि मलाई आयामबारे अरु थप अध्ययनको खाँचो थियो । तेस्रो आयामको बारेमा त मलाईभन्दा पनि त्यसबेला दुबसुलाई धेरै थाहा थियो । अनि दुबसु र म तेस्रो आयामसँग सम्बन्धित सामग्रीहरु खोज्ने र पढ्ने काममा लाग्यो ।


बिस्तारै झापाको साहित्यिक गतिबिधिमा उहाँ पनि सकृय हुँदै गए पछि बाक्लै भेट हुँदै जान थाल्यो । भवानी घिमिरेको नेतृत्वमा हामी झापाली युवा कविहरुको एउटा पल्टन नै बनेको थियो ।

तर त्यसपछि पनि म सजिलै बैरागी काइलाको सामु पर्न सकिन । मलाई उहाँको ज्ञानको गहिराईसँग धक थियो । उहाँको अघि पुगेर मैले के कुरा गर्नु जस्तो लाग्थ्यो । बिस्तारै झापाको साहित्यिक गतिबिधिमा उहाँ पनि सकृय हुँदै गए पछि बाक्लै भेट हुँदै जान थाल्यो । भवानी घिमिरेको नेतृत्वमा हामी झापाली युवा कविहरुको एउटा पल्टन नै बनेको थियो । त्यसले २०४० सालदेखि भोक कविता आन्दोलन नै पनि चलायो । भवानी घिमिरे, दान खालिङ, गणेशबहादुर प्रसाई र बैरागी काइला अब हाम्रा साहित्यिक अभिभावक हुनु भयो । यही यात्रामा बैरागी काइलाको नजिकतिर पठाउने मुख्य काम गणेशबहादुर प्रसाईले गर्नु भयो ।

ती कविहरुको भीडमा उहाँले ममा के देख्नु भो होला ! मसँग भेट हुँदा जहिले पनि आयामको बारेमा कुरा गर्ने र तपाईले बैरागीलाई भेट्ने गर्नु भन्नु हुन्थ्यो । उहाँ आफैले पनि तेस्रो आयामको सुरुवातका सन्दर्भहरुको चर्चा गर्दै त्यसको ब्याख्या पनि गर्नु हुन्थ्यो । मेरा साथीहरुका बीच मलाई बिस्तारै आफू अलग्गै हुँदै जान थाले जस्तो लाग्न थाल्यो । अध्ययनको क्षेत्र पनि फरक पर्दै जान लाग्यो । साथीहरु समसामयिक बिषयमा केन्द्रित हुन्थे मलाई भने ती भन्दा अलिक फरक कुराले चलमलाउन लाग्यो । अनि म कवितामा भन्दा निबन्धतिर तानिदै जान लागे ।

बिस्तारै धक फुक्दै गयो र म बैरागी काइलाको नजिक जान आँट गर्न लागें । प्रश्न गर्न लागें । उहाँका कविताहरु पढ्न लागें र नबुझ्न लागें । बुझ्न जोड गर्न लागें । बिस्तारै मेरो पढ्ने पाटो नै फेरिदै जान लाग्यो । मैले कवितामा त आयामिक लेखन शैली समात्न सकिन तर बोधको तहमा केही बुझें कि जस्तो अनुभव गर्दै गएँ । त्यसै सिलसिलामा फेरि गणेशबहादुर प्रसाईले नै एक दिन २०४५ सालतिर इन्द्रबहादुर राईको कठपुतलीको मन कथासंग्रह दिंदै भन्नु भो– तपाई अब यी कथा पढ्नु । यी लीला कथा हुन् ।

लीलाको बारेमा त्यस अधि गरिमामा इन्द्रबहादुर राईको एउटा अन्तर्वाता पढेको थिएँ तर त्यसबाट मैले केही बुझेको थिइनँ । त्यो किताब त झन के बुझ्नु ! बिस्तारै फेरि मलाई उहाँहरुले लीलातिर मोडिदिनु भयो । मेरो साहित्यिक स्टेयरिङ लीलातिर मोडिए पनि त्यो यात्रा आयामकै बाटो भएर गइरहेको थियो र आजसम्म पनि गइरहेकै छ । लीलामा लागेपछि त मेरो मूल थलो नै बैरागी काइलाको घर हुनपुग्यो । उहाँबाटै लीला बारे जानकारी पाउँदै गएपछि हाम्रै कचकचले नै भनौं उहाँले इन्द्रबहादुर राईसँग हाम्रो भेट गराई दिनथाल्नु भो धुलाबारीमा । उहाँको निम्तोमा आईबी राई झापा आउन थालेपछि हामी उहाँको अझ नजिक हुन पायौं र फरक धारको साहित्यिक यात्रामा प्रवेश गर्न पायौं ।

हामीलाई यति धेरै महत्व दिएर आयाम र लीलाको बाटो देखाएर पनि बैरागी काइलाले कहिल्यै पनि हामीलाई आफ्नो पक्षमा प्रयोग गर्नु भएन । उहाँले कहिल्यै पनि मेरो बिषयमा वा हाम्रो बारेमा यसो गरिदेओ भन्नु भएन । उहाँले हामीलाई यति उर्जा भरिदिनु भएछ कि हामी आफैं हिंड्न थालेछौं र उहाँहरुले बिकसित गरेकै जिपिएसको इसारामा अघि बढ्न थालेछौं । आज हामीलाई गौरव लागेको छ । हामीले आफ्नै प्रकारको साहित्यिक बैचारिकीलाई लिएर आफ्नो पहिचान स्थापित गर्न सकेका छौं । राष्ट्रिय बहसमा भाग लिन पाएका छौं । फरक शैलीका सिर्जना गर्न पाएका छौं । तेस्रो आयाम र लीलाको उत्तराधिकारीको रुपमा चिनिएका छौं र साहित्यको यो सैद्धान्तिक यात्रामा केही थप्न पनि पाएका छौं ।

बैरागी काइला नेपाली कविताले पाएको एक अनमोल रत्न हुन् । काइलाका कविताको संख्यासँग उनको सिर्जना र बौद्धिकता नापिदैन । नापिने भए आज हामी कसैले पनि उनका बारेमा यति धेरै चर्चा गरिरहनु पर्ने थिएन । बैरागी काइला आफ्ना कविताको र बौद्धिकताको शक्तिले नै बैरागी काइला भएका हुन् र उनलाई कुनै प्रकारको औपचारिक सत्ताले उभ्याएको हैन ।

बैरागी काइलाले पैतृक सम्पत्ति पाएर आर्थिक सुविधाको जीवन भोगे होलान् तर उनले आफैं कमाएर सम्पत्ति थपेको हामीले देखेका छैनौं । जीवनको सम्पूर्ण समय साहित्यलाई दिएका बैरागी आज एकासी बर्षको उमेरमा यात्रारत छन् । यो उमेरमा पनि लेखन, चिन्तन र अध्ययनमा लिप्त उनी एक बैेद्धिक सन्त नै हुन् ।


मलाई गर्व लाग्छ– म बैरागी काइँला बाँचेकै युगमा जन्मेछु र उनकै संगत पाएर साहित्यको यो यात्रामा हिंड्दै यहाँसम्म आइपुगेको छु । वर्तमान चलायमान हुन्छ । आज बैरागीका यी कुरा सामान्य लाग्छन् तर कालान्तरमा यो नाम नेपाली साहित्यको इतिहासको पानामा दुलो पर्ने गरी घोट्दा पनि नमेटिने गरी लेखिइ सकेको छ ।

मलाई गर्व लाग्छ– म बैरागी काइँला बाँचेकै युगमा जन्मेछु र उनकै संगत पाएर साहित्यको यो यात्रामा हिंड्दै यहाँसम्म आइपुगेको छु । वर्तमान चलायमान हुन्छ । आज बैरागीका यी कुरा सामान्य लाग्छन् तर कालान्तरमा यो नाम नेपाली साहित्यको इतिहासको पानामा दुलो पर्ने गरी घोट्दा पनि नमेटिने गरी लेखिइ सकेको छ । आफूसँग भइरहेकै बेला बस्तुको मुल्याङ्कन गर्न सक्नु पर्छ । इतिहास पुज्न सजिलो छ । वर्तमानलाई नै पुज्न सक्नेलाई मात्र इतिहाससँग पनि गर्व गर्न पाउने अनुमति रहन्छ । नेपाली साहित्यमा गर्व गर्नै पर्ने वर्तमानको खोजी गरौं, जसको भोलि चर्चा गर्दा हामीलाई लाज नलागोस् । हामी आजै गर्व गरिरहेका छौं बैरागी काइलामाथि र गरिहन्छौं ।
०००

[कृष्ण धराबासी]