लिम्बू भाषा पाठ्यक्रमको छपाई सकियो « Yalambar Times
१ बैशाख २०८१, शनिबार

लिम्बू भाषा पाठ्यक्रमको छपाई सकियो


यलम्वर टाइम्स
१ आश्विन २०७३, शनिबार ०४:३१

सन्देश सुब्बा

bookपाँचथर / पहिलोपल्ट पाँचथरमा निर्माण गरिएको लिम्बू भाषा आधारभूत तह (कक्षा ६–८) को पहिलो चरणको पाठ्यक्रमको छपाई कार्य हालै सकिएको छ ।

प्रथम पल्ट ७० प्रति पाठ्यक्रम छपाई गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक हरिचन्द्र लाओतीले बताए । भाषावीद तथा पाठ्यक्रमवीद लाओती नेतृत्वको समितिले दुई महिना लगाएर पाठ्यक्रम तयार पारेको थियो । जिल्ला शिक्षा कार्यालय मार्फत उक्त पाठ्यक्रम फिदिम स्थित रिजाल प्रेसमा छपाई गरिएको हो ।

उक्त पाठ्क्रमलाई सुरुमा पाँचथर र क्रमशः लिम्बु विद्यार्थीहरुको बाहुल्यता रहेको ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुम लगायतका जिल्लामा पनि पठन–पाठन गरिने बताइएको छ । पाठ्क्रम लिम्वू भाषा र सिरिजाङ्गा लिपिमा तयार पारिएको छ ।

पान्थरे भाषिकालाई मानक मानेर तयार गरिएको पाठ्यक्रममा फेदापे, छथरे र तमोरखोले भाषिकालाई पनि समेटिएको संयोजक लावतीले बताए । जस कारण पान्थरे बाहेकका भाषिकाका वक्ताहरुले पनि पाठ्यक्रम प्रति अपनत्व ग्रहण गर्ने लाओतीको दावि छ । पाठ्यक्रम १ सय पूर्णाङ्कको छ । पाठ्यभार भने ५ छ ।

चार खण्डमा विभाजित पाठ्यक्रमको पहिलो खण्ड लिम्वू भाषा र संस्कृति, दोश्रो खण्ड पेशा र प्रविधि, तेश्रो खण्ड विज्ञान र चौँथो खण्ड गणित रहेको छ ।

पहिलो खण्ड ५०, दोश्रो खण्ड ३० र तेश्रो तथा चौँथो खण्ड समान १०/१० पूर्णाङ्कको छ । पाठ्यक्रमको मूल उदेश्य लिम्वू भाषा, संस्कृतिको संरक्षण प्रति विद्यार्थीहरुमा प्रेमभाव जगाउनु रहेको निर्माण समितिले जनाएको छ । पाठ्यक्रमले लिम्वू भाषाको भाषिक परम्परालाई प्रयोग गर्न तथा सन्तुलित विकास गर्न, भाषा विज्ञानको नयाँ आयामलाई अंगाल्न, मौलिक लवज बचाउन र जीवन निर्वाहमा सहयोग गर्न पनि भूमिका निर्वाह गर्ने पाठ्यक्रम निर्माण समितिका सदस्य राजेन्द्रकुमार जवेगूले बताए ।

सरकारको बहुभाषिक शिक्षा नीति र मातृभाषामा आधारभूत तहसम्म शिक्षा लिन पाउने हक अनुसार लिम्बू विद्यार्थी मञ्चको अगुवाइमा जिल्लास्थित लिम्वू शिक्षासेवी र जिल्ला शिक्षा कार्यालय पाँचथरको संयुक्त प्रयासमा पाठ्यक्रम निर्माण भएको हो ।

भाषाविद हरि चन्द्र लाओती नेतृत्वको पाठ्यक्रम निर्माण समितिको सदस्यहरुमा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जवेगू, भाषाविदहरु दिलेन्द्र कुरुम्बाङ, मलिसा याक्थुङबा, लिम्वू विद्यार्थी मञ्चका अध्यक्ष आङ्बुहाङ अबोध अविरल र श्रोतव्यक्ति गजाधर ढुङ्गाना रहेका थिए ।