‘अश्वत्थामा’ गर्भ गृहभित्रबाट

[कुमार भट्टराई]

दशैंमा जब आफूभन्दा ठूलाले ‘आयु द्रोण सुतेः ….’ भनेर शुरु गरी ‘…मानन्चः दुर्योधने..’ भन्दै निधारमा टीको लगाएर आशिर्वाद दिनुहुन्थ्यो, त्यतिखेर त्यसको कुनै अर्थ बुझिदैनथ्यो । अग्रजहरुले पनि त्यसको शुद्ध उच्चारण नगरेकाले बालमनस्थितिमा हाँस उठ्दो कुरो जस्तो लाग्थ्यो । ठूलो हुँदै जाँदा त्यसको उच्चारण र अर्थ बुझ्दै आउन थालियो । महाभारतका कथा र त्यसका पात्रहरु समेत बुझ्न थालियो । कथा एउटा निश्चित ‘फर्मेट’मा सुनिन्थ्यो । जसमा पाण्डवहरु सत्यवादी र कौरवहरु सबै अधर्मी । पाण्डवहरु धर्मभिरु, कौरवहरु अत्याचारी । अर्जुन शक्तिशाली, दुर्योधन अभिमानी । यी र यस्ता कुराहरुले मेरो मन पनि त्यसै अनुरुप ढलेकै हो ।

जब दशैंको टीकाको अर्थ बुझ्न थालें, त्यतिखेर मलाई त्यस कुरामा केही न केही नमिलेको जस्तो लाग्यो । ‘सत्यन्तः कुन्ती सुतेः’ अर्थात् कुन्तीका छोरा (युधिष्ठिर) जस्तो सत्यवादी हुनु’ भन्ने आशिर्वाद नै मलाई गलत लाग्यो । युधिष्ठिरले बोलेको एउटा सत्यले आफ्ना कुरा मारिन्छन् । हरेकका जीवनमा पाँच प्रकारका पिता हुन्छन् भनिन्छ, जन्म दिने, शिक्षा दिने, पुत्र वा पुत्री दिने, भूमी दिने र रोजगार दिने । जीवनभर सत्य बोलेर पनि आफूलाई नै सबैभन्दा बढी प्रेम गर्ने, आफ्ना लागि सबैथोक अर्पिने पिता कै ज्यान लिने सत्य, के सत्य ? त्यसैले मलाई त्यो आशिर्वाद फिक्का लाग्यो ।

त्यसै गरी ‘शत्रु क्षयं राधवे..’ भन्ने आशिर्वाद आउँछ । अर्थात्, शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस् । त्यति धेरै शत्रु पनि किन नास्नु ? जसले गर्दा जीवन नै एक्लो होस् । जीवनमा अरुको अस्थित्व रह्यो भने पो आफू हुनुको पनि अर्थ रहन्छ । युद्धपछि कृष्णको जीवन उल्लासमय थियो त ? थिएन । अर्को पक्षबाट सोच्दा शत्रु नै किन पो बनाउनु ? किन मान्नु ? आफूलाई शत्रु लागेकाहरुको नजरबाट आफू पनि शत्रु नै भइन्छ होला । यो शत्रु र शत्रुताको उत्पादन हुने मार्गमा नै किन हिंड्नु ? त्यसैले त्यो आशिर्वाद पनि मलाई उपयोगी लागेन ।


त्यो भन्दा ठूलो संकट त मलाई त्यो आशिर्वादले लगाउन थाल्यो, जुन ‘..मानन्चः दुर्योधने ..’ भनेर पाउने गर्थें । महाभारतको कुरा निस्किंदा दुर्योधन जति खराब कोही छैन भनेर व्याख्या गर्नेहरु दशैंमा ‘दुर्योधनको जस्तो मान होस्’ भनेर आशिर्वाद दिन्थे । मलाई लाग्थ्यो, कि त यो आशिर्वाद गलत छ, कि त दुर्योधन ।

त्यो भन्दा ठूलो संकट त मलाई त्यो आशिर्वादले लगाउन थाल्यो, जुन ‘..मानन्चः दुर्योधने ..’ भनेर पाउने गर्थें । महाभारतको कुरा निस्किंदा दुर्योधन जति खराब कोही छैन भनेर व्याख्या गर्नेहरु दशैंमा ‘दुर्योधनको जस्तो मान होस्’ भनेर आशिर्वाद दिन्थे । मलाई लाग्थ्यो, कि त यो आशिर्वाद गलत छ, कि त दुर्योधन ।

त्यसैले मैले त्यसप्रति अलिक बढी चासो राख्न थालें । बुझ्दै जाँदा कुरुक्षेत्रमा पराजित भएकै कारणले दुर्योधनप्रति अलिक बढी अन्याय भएको जस्तो लाग्यो । मलाई लाग्यो, सत्यले सधैं जित्छ भन्ने छैन । जसले जित्छ, त्यसैलाई सत्यको व्याख्या गर्छौं हामी ।
दुर्योधन लेख्न मन थियोे, तर त्यसको लेख्ने आधार भेटिरहेको थिइनँ । लागिरहेको थियो, दुर्योधन पक्षबाट लेख्दा लेखन तटस्थ नहुन सक्छ । पूर्वाग्रही हुन सक्छ । त्यसै बेला राधा उपन्यास बजारमा आयो । त्यस पुस्तकको अन्तिम हरफले लेखन–आधार तयार ग¥यो ।

अश्वत्थामाका विषयमा अध्ययन गर्न थालें । जब अश्वत्थालाई बुझ्न थालें । वर्तमान राजनीतिसँगको समानता पो भेट्न थालें महाभारतभित्र । ‘मुनामदन’को पीडा त उहिल्यै द्रोणले भोगिसकेका रहेछन् । आज पेटका लागि बैदेशिक रोजगार गएर पनि सर्वस्व गुमाउनेहरुकोे पीडाभन्दा कम कहाँ रहेछ र द्रोणको परिवारको पीडा ।

अहिलेको मातृसत्ता र पितृसत्ता स्थापनाको लागि भइरहेको अन्तद्वन्द्व रहेछ त्यसबेला पनि । अहिले राजनीतिकवृत्तमा उठेको पिताको पहिचान बेगर नै महिलाले सन्तान जन्माउन पाउनु पर्ने माग, उतिखेरको पाण्डवहरुको जन्मसँग मिल्दैन र ? त्यतिखेरका पात्रहरुको पहिचान आमासँगै त जोडिएर आएको रहेछ, गंगापुत्र, दासीपुत्र, गान्धारीपुत्र, कुन्तीपुत्र, इत्यादि ।

जातीय अपमान र अभिमानका घटनाहरु, त्यसका विरुद्ध त्यसबेला दुर्योधनले उठाएका कदमहरु र उनी अल्पमतमा परेको अवस्थासँग अहिले घटेका घटना–दुर्घटनाहरु मिल्दैनन् र ? शक्तिलाई पारिवारिक जंजालभित्र समेट्ने त्यस बेलाका योजनाहरु अहिलेको नेपाली संसदभित्र देखिएका परिवारभित्रका सदस्यहरु मात्र अँटेका परिवेशहरु । दुःख गर्ने राजनीतिक कार्यकर्ता पाखा लागेर दलहरुभित्र स्थापित वंश परम्पराहरु । सत्ताका लागि भएको त्यसबेलाको खिचातानी, हत्या, अपराधहरु र अहिलेको परिस्थिति । यी सबै उस्तै–उस्तै लाग्दै आए ।

पुस्तकका सबै आधार तयार भयो । ‘प्लट’हरु लेखिए । तर पनि मैले किताबलाई पूर्ण गर्ने आँट गर्न सकिनँ । किनकि धेरै बर्षदेखि सत्य लागेका मान्यताहरु यस कृतिले भत्काउने थियो । जसले गर्दा कसैको आस्थामाथि चोट पुग्ने थियो, कसैले देउता मानेकाहरु अचानक कसैद्वारा परिचालित साधारणपात्र जस्ता मात्र लाग्ने थियो ।

त्यसै बीच राजनीतिक व्यक्तित्व राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ बजारमा आयो । मैनालीको कृतिभित्र उहाँको राजनीतिक जीवनका उतार चढावहरु छन्, तर एउट गम्भीर प्रश्न त्यहाँ भेटें मैले । जनअन्दोलन चलिरहेको अवस्थामा पाटनको च्यासलमा मालेको केन्द्रीय समितिको बैठक बस्यो । त्यहाँ माधव नेपालले आन्दोलनलाई उचाइमा पु¥याउन भारतले सशस्त्र विद्रोहका लागि हतियार सहित मान्छे पठाउने प्रस्ताव राख्छन् । महासचिव मदन भण्डारीले स्वाभिमान लुट्ने गरी विदेशी सेना भित्रिने प्रस्ताव नल्याउन भन्छन् ।

त्यसपछि अर्को पटक फेरि माधव नेपालले बैठकमा प्रस्ताव लान्छन् । त्यस बेला सशस्त्र विद्रोहका लागि भारतले भारतीय नागरिक होइन, नेपाली गोर्खा सैनिक पठाउने प्रस्ताव गरेको बताउँछन् । त्यो कुरा सुनेपछि महासचिव मदन भण्डारी रिसाएको र यस्ता कुरा ल्याएमा कार्वाही हुन सक्ने कुराले सचेत गराउँछन् । त्यो घटना भएको केही समयपछि मदन भण्डारी मारिन्छन् ।

त्यो पढेपछि ‘अश्वत्थामा’लाई पूर्ण गर्नुपर्छ भन्ने दृढता जाग्यो । किनभने देशका महत्वपूर्ण व्यक्तिहरु दिनदहाडै मारिंदै गएका छन् । समय चक्रभित्र राजपरिवार वंश नै मारिन्छ । राज्यको यत्रो ठूलो संरचना जसभित्र लाखौं व्यक्तिहरु राज्य सुरक्षाका लागि अहोरात्र खटेका छन्, तर राजसंस्था मासिंदा समेत सत्यतथ्य बाहिर ल्याउन सक्दैन । एकलव्य जस्ता लाग्ने मदन भण्डारी मारिंदा हत्यारा पत्ता लाग्दैन । यी घटनाहरु कतै कुरुक्षेत्र युद्धका लागि तयार गरिंदै आइएको आधारभूमी जस्तो त होइन ? त्यसैले यो कृति लेख्नु पर्छ जस्तो लाग्यो ।

महाभारतमा निरपेक्ष लाग्ने कृष्णको सापेक्ष भूमिकाले युद्ध निम्त्याएको सबैलाई थाह छ । कृष्णले युद्ध किन चाहे भन्ने विषय कहीं खुल्दैन । संसारमा असत्य केही छैन । सबैको आ–आफ्ना सत्य र आ–आफ्नो धर्म छ । कृष्ण मात्रको एक्लो सत्यलाई सर्वसत्यवान् नमान्दा नै युद्ध भएको छ । त्यो युद्धको मूख्य सूत्राधार को हो ? कहीं खुल्दैन । हाम्रो देशमा पनि सशस्त्र विद्रोहको मूख्य सूत्राधार को हो ? अहिले पनि प्रश्नवाचक छ । युद्धमा सहभागी पक्ष र विपक्षकाहरु कोही दुर्योधन जस्ता र कोही अर्जुन जस्ता, कोही कर्ण जस्ता र कोही अश्वत्थामा जस्ता मात्र भए । तर त्यो गराउने चाहिं को हो ? महाभारतमा करोडौं सर्बसाधारण मारिए, जसको कुनै इतिहास छैन । उनीहरुले मरेर के पाए ? त्यसको पनि हिसाब–किताब छैन । हरेक युद्धमा मारिने सर्बसाधारण जसको कसैप्रति पनि कुनै व्यक्तिगत आग्रह वा पूर्वाग्रह हुँदैन, मृत्यपछि उसले र उसको परिवारले प्राप्त गर्ने उपलब्धि के हो ? शान्तिका नाममा गरिने युद्धले मुर्दाशान्ति बाहेक के ल्याउँछ ? यावत् प्रश्नहरुको उत्तर खोज्ने क्रममा यो कृति तयार हुँदै गयो ।

बर्तमान अवस्थामा हामीले परिकल्पनै नगरेका घटनाहरु राजनीतिक बृत्तमा हुँदै आइरहेका छन् । आम नागरिकहरुले कहिल्यै नउठाएका मुद्दाहरु अचानक घोषणा भएका छन् । आन्तरिक राजनीतिको उथल–पुथल देशबाहिर कै बागडोरबाट हुने गरेको छ । नागरिकका आवाजहरु अनुरुप कहिल्यै देश चल्दैन ।


राजा महेन्द्रदेखि शुसिल कोइरालासम्म कोही अमूक घटनाद्वारा मारिएका हुन् भन्ने मधुरो हल्ला फैलिएको छ । यी सबै दुर्घटनाहरुको अमुक सूत्राधार को हो ? कतै महाभारत कथाभित्र हराएका राज्यहरु जस्तै लामो योजनाभित्र त छैनौं हामी ? आफू युवराज हुने लालसामा फसेका युधिष्ठिर र दुर्योधनहरुलाई एकआपसमा लडाएर अरु कोही आफ्नो स्वार्थ साध्न लागेको त छैन ? यी प्रश्नहरुबाट उब्जिएको कृति हो ‘अश्वत्थामा’ ।

राजा महेन्द्रदेखि शुसिल कोइरालासम्म कोही अमूक घटनाद्वारा मारिएका हुन् भन्ने मधुरो हल्ला फैलिएको छ । यी सबै दुर्घटनाहरुको अमुक सूत्राधार को हो ? कतै महाभारत कथाभित्र हराएका राज्यहरु जस्तै लामो योजनाभित्र त छैनौं हामी ? आफू युवराज हुने लालसामा फसेका युधिष्ठिर र दुर्योधनहरुलाई एकआपसमा लडाएर अरु कोही आफ्नो स्वार्थ साध्न लागेको त छैन ? यी प्रश्नहरुबाट उब्जिएको कृति हो ‘अश्वत्थामा’ ।

वर्तमान राजनीतिक परिवेश र महाभारत कालखण्डको समानता खोज्नका लागि अर्जुनधारा धामका व्यासाचार्य पुष्पलाल निरौला र आचार्य अग्नी सिग्देलसँग घण्टौं आवश्यक(अनावश्यक तर्क गरेको छु । आदरणीय अग्रजहरु, पत्रकारहरु, दलित तथा राजनीतिक अगुवाहरुसँग पनि नजानिंदो पाराले गम्भीर बहस गरेको छु ।

कृति लेखिसकेपछि पहिलो ड्राफ्ट कृष्ण धराबासीले हेर्नु भयो । ए–फोर साइजको झण्डै
तीस पेस काटियो, केही थपियो । दोस्रो पटक साहित्यकार कृष्ण बरालले हेर्नुभयो, दुई–चार पेज काटियो ।

तेस्रो पटक आख्यानकार अमर न्यौपानेले हेर्नुभयो, फेरि पाँच–सात पेज काटियो । अन्त्यमा होम भट्टराईले हेर्नुभयो । आवरण भानु भट्टराईले निर्माण गरेपछि किताब पूर्ण भयो । सांग्रिला बुक्सका लागि मणि शर्मासँग कुरा भयो, उहाँले मेरा वचनको सम्मानमा पुस्तक प्रकाशन गर्नुभयो ।

यो मिथकमाथि लेखिएको वर्तमान परिवेश भएकाले केही सहज–केही असहज लाग्न पनि सक्छ । यो तयार गरिरहँदाका मेरा प्रत्यक्ष–अप्रत्यक्ष स्रोतहरु, सहयोगी, सुझावदाता, शुभचिन्तक, भर्जुअल संसार र ऋषि व्यास समेतलाई हार्दिक आभार व्यक्त गर्दछु । ([email protected])

कुमार भट्टराई

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd