छानबिन नभएको भन्दै प्रधानमन्त्रीलाई पत्र « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

छानबिन नभएको भन्दै प्रधानमन्त्रीलाई पत्र


यलम्वर टाइम्स
१५ भाद्र २०७३, बुधबार ११:२३

पाँचथर / जिल्लाको नवमीडाँडा गाविसमा बर्षौंदेखि आर्थिक अनियमितता हुँदै आएको भन्दै अख्तियारमा दिइएको उजुरी उपर छानबिन अघि नबढेको भन्दै प्रधानमन्त्रीलाई पत्र पठाइएको छ ।

नवमीडाँडा गाविसका न्यायप्रेमी जनताहरुको तर्फबाट भन्दै राजेन्द्र आङदेम्बे र राजकुमार आङदेम्बेले मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् । उनीहरुले तत्कालीन गाविस सचिव भेषराज दाहाल र स्थानीय होमप्रसाद आङदेम्बे, छविरमण हुमागाई र गोविन्द प्रसाद न्यौपाने समेतले आर्थिक वर्ष २०६९/७० देखि गाविसको बजेटको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

त्यस्तै स्थानीय सिद्धदेवी माविमा समेत नीतिगत तथा आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । सो को बारेमा छानबिन गरिपाउँ भनि राजेन्द्र आङदेम्बेको नाममा भदौ ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित क्षेत्रीय कार्यालयमा उजुरी दिइएको थियो । गाविस र विद्यालयको छुट्टाटुट्टै कार्यालयको दर्ता नम्बर ४४४ र ४४५ मा उजुरी दर्ता गरेको राजेन्द्रले बताए ।

तर उजुरी उपर हालसम्म पनि कुनै किसिमको छानबिनको प्रक्रिया अघि नबडाइएकाले चाँडै छानिबिन गर्न माग राख्दै प्रमलाई पत्र पठाएको राजकुमार आङदेम्बेले बताए । ढिलो छानबिन गरिदा दोषीहरुले प्रमाण लुकाउँने तथा नष्ट गर्न सक्ने भन्दै पत्र लेखिएको छ । अहिले अनियमितताको काण्डमा मुछिएकाहरु केही ठूला राजनीतिक दलको आडमा हामीलाई कसले के गर्न सक्छ ? भन्दै आफूहरुलाई विभिन्न धाकधम्कि दिँदै हिंड्ने गरेको समेत राजेन्द्रले बताए ।