पहिचानको पहिलो मुद्दा उठाउने जनमुक्ति महाधिवेशनमा जुट्दै « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

पहिचानको पहिलो मुद्दा उठाउने जनमुक्ति महाधिवेशनमा जुट्दै


यलम्वर टाइम्स
३ जेष्ठ २०७६, शुक्रबार ०५:३१

ललितपुर । पहिचानको पहिलो मुद्दा उठाउने राष्ट्रिय जनमुक्ति पार्टी महाधिवेशनमा जुटेको छ ।

यसबेला उक्त पार्टी वडा, गाउँ र नगर अधिवेशन गर्दै ठाउँ–ठाउँमा भ्रष्टाचार विरुद्धको अभियानमा पनि लागेको छ ।

पहिलो पटक संघीय राज्यको आवाज उठाउँदा विखण्डनकारीको आरोप झेलेको जनमुक्ति अन्तोतगतः संघीय राज्य निर्माणमा पुर्याइ छाडेको छ । उक्त पार्टीले मुलुकको संरचनामा १२ संघीय राज्य हुनुपर्छ भन्दै आएको छ ।

संघीय राज्यको अलवा धर्मनिरपेक्ष, समानुपातिक प्रतिनिधित्व र सबै जाति, वर्गलाई समान अधिकार प्रदान गरिएन भने मुलुक द्वन्दमा रुपान्तरण हुन्छ भन्दै आउँदा त्यसलाई लोकतन्त्रले स्वीकारेको हुँदा अब भ्रष्टाचार विरुद्ध अभियान र संविधान पुर्नलेखन जस्ता कार्यमा आम जनतासँग मत बटुल्दै हिडेंको यस पार्टीका महासचिव केशव सूर्यवंशी बताउँछन् ।

‘साना दलका रुपमा सूचिकृत छौं तर विचार ठूलो छ त्यसलाई पुर्याइ छाड्छौं’ अध्यक्ष केपी पालुङ्वा बताउँछन् ।

उनी भन्छन्, ‘पहिचान मिल्नेसँग सहकार्य हुन्छ । तिनका विचार ठीक ठाउँमा उभिए एकता पनि हुन्छ ।’

आउने मंसिर ४ गतेदेखि धरानमा छैठौं महाधिवेशन गर्ने भनी जुट्दै आएको उपमहासचिव एवम् केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियारले जानकारी दिए ।

उनका अनुसार हालै बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो । आउने साउनको बैंठकमा महाधिवेशन झापामा पनि सार्न सकिने सचिव पदम जवेगुले बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण भएपछि बसेको केन्द्रीय समितिको बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको छ ।

पार्टीका नेतालाई जिम्मेवारी हेरफेरसँगै कार्य विभाजन पनि गरेको छ । पार्टीले जनवर्गीय संगठनको नेतृत्वसमेत तोकेको छ ।

२ पार्टीबीच गत चैत्रमा एकता भएको थियो । बैठकले बढ्दो भ्रष्टाचारविरुद्ध जेठ महिनादेखि ‘भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान’ चरणबद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको छ ।

सो अभियानका लागि पार्टी महासचिव केशव सूर्यवंशीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

परियारका अनुसार महाधिवेशन संयोजकमा संस्थापक नेता रामबहादुर तुम्वाहाम्फे, उपसंयोजकहरुमा क्रमशः उपाध्यक्ष मोहन धिमाल र प्रदेश नं. १ का अध्यक्ष प्रकाश येङदेन, प्रचार संयोजकमा उपमहासचिव एवम् केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियार, अर्थ संयोजकमा कोषाध्यक्ष डबबहादुर गर्वुजा र सचिवालय संयोजकमा केन्द्रीय सचिव पदम जवेगु र विष्णु थाम्देनलार्ई जिम्मेवारी प्रदान गरिएको छ ।

गोविन्द नेपाली (कञ्चनपुर) लाई प्रदेश ७ को संयोजक बनाएको छ भने मनोज परियार (दार्चुला) लाई सहसचिव र प्रेम नेपाली (अछाम), निर्मल मग्राती (गोर्खा), गजेन्द्र पासवान (सप्तरी), रुपेश वागचन (सल्यान), सरोज कार्की (चितवन), कमला नेपाली (गुल्मी), कृष्ण भण्डारी (बैतडी), राजेन्द्र विक (सप्तरी), दुर्गा विक (तनँहु) र सरोज उपरकोटी (चितवन) लाई संघीय परिषद सदस्यमा मनोनयन गरेको छ ।

खम्बुवान राष्ट्रिय मोर्चाबाट पार्टी प्रवेश गरेका राज्य राई (देमिन) लाई पार्टीको संघीय परिषद सदस्यमा मनोनित गरेको छ ।

पार्टी अध्यक्ष केपी पालुङ्वाको सभापतित्वमा बसेको सो बैठकले जातीय समन्वय विभागलाई अधिकार सम्पन्न ‘जातीय विभाग’ मा परिणत गर्दै विभागका प्रमुख दलबहादुर वीरकट्टालाई उपाध्यक्ष बनाएको छ ।

सामाजिक सञ्जाल ब्यूरोको प्रमुखको समेत जिम्मेवारी बहन गर्ने गरी यातायात विभाग प्रमुख सूर्यकुमार सारुलाई सचिव पदमा बढुवा गरेको छ ।

सचिव बलदीप राईलाई बुद्धिजीवि विभाग प्रमुखको जिम्मेवारी दिएको छ । संघीय परिषद सदस्य श्याम परियारलाई राष्ट्रिय दलित मोर्चाको राष्ट्रिय भेला संयोजकको जिम्मेवारी तोकेको छ ।

२०४८ सालमा स्थापित पार्टीको चुनाव चिन्ह घर हो ।