लाहुरेले उजुर नामक पुस्तकबाट आफ्ना भाव पोखे « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

लाहुरेले उजुर नामक पुस्तकबाट आफ्ना भाव पोखे


यलम्वर टाइम्स
१० बैशाख २०७६, मंगलवार ०७:१४

अर्जुनधारा । एउटा लाहुरे आफूबाट प्रकाशित गजलको टेली बोकेर शहीद सालबारी पार्कको सभाकक्षमा उपस्थित हुँदा उपस्थित साहित्यकारहरुले उनलाई स्वागत मात्र गरेनन् प्रशंसा समेत गरे ।

शनिबार त्रिवेणी साहित्य तथा नाट्य समूहले धरमपुरका युवा गजलकार मनिराज निङलेखुले आफ्ना कृति उजुर नामक पुस्तकबाट आठ वटा गजल प्रस्तुत गर्दा देशभक्ति र माया प्रितीका भावहरु पोखेका थिए ।

चार वर्षअघि भारतीय सेनामा कार्यरत मनिराज गजलका उदाउँदा तारा हुन् । उनले बैशालु जीवनमा पोखिने भावहरु गजलमा पोखेका छन् भने राष्ट्रभक्ति पनि दर्शाएका छन् ।

उनीबाट प्रकाशित उजुर नामक कृति नवआगन्तुक गजलकारहरुका लागि गोरेटो बन्न सक्छ । तर, लेख्दै जाने हो भने अझ परिस्कृत भएर अर्को कृति प्रकाशन गर्न समेत सुझाए ।

त्रिवेणी साहित्य तथा नाट्य समूहका अध्यक्ष लभकुश गौतमको सभापतित्वमा भएको एकल गजल वाचन कार्यक्रममा युवा जगलकार निङलेखुको गजलमाथि सुन्दर कुरुप, लिला अनमोल र मुन्ना राज शेर्माले छोटो मीठो समालोचन गरेका थिए ।

कार्यक्रममा महारानीगञ्ज माविका अध्यक्ष रोहित ढकाल, वडास्तरीय खेलकुदका अध्यक्ष मोसेस खड्का, पत्रकार दिपीन राई र साहित्यकार पुण्य खरेलले गजलका विषयमा आ–आफ्ना विचार राख्दै युवा गजलकारलाई शब्दमा प्रोत्साहित गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ११ का अध्यक्ष भैरव खड्काले राष्ट्र समृद्ध हुन बाटोघाटो मात्र नभइ कला साहित्य पनि भएको हुँदा आउने समयमा यस क्षेत्रमा वडाको ध्यान जाने बताए ।

कार्यक्रममा साहित्यकार खगेन्द्र खुशी, पुष्प आचार्य, विमला चिमरिया, दिवस बलिभद्र कोइराला लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।

साहित्यशैलीमा सञ्चालन गरेका कवि अभागी थेगुवाले बीचबीचमा साहित्य सम्बन्धिका विषयमा विविध जानकारी समेत गराएका थिए ।

कार्यक्रममा मजदुर नेता सन्त राई लगायतको आतिथ्य रहेको थियो ।