महिला फुटबल प्रतियोगिताको उपाधी ताप्लेजुङलाई « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

महिला फुटबल प्रतियोगिताको उपाधी ताप्लेजुङलाई


यलम्वर टाइम्स
२५ माघ २०७५, शुक्रबार १२:२१

अर्जुनधारा । प्रदेश नम्बर १ स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी कर्णसिंह सोनाम स्मृती स्पोर्टिङ क्लब ताप्लेजुङले जितेको छ ।

सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालको आयोजनामा अर्जुनधारा–९ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पारिजात महिला फुटबल क्लब झापालाई २–१ गोलले पराजित गर्दै ताप्लेजुङले उपाधी जितेको हो ।

विजेता टिमको लागि खेलको ६१औं र ६६औं मिनेटमा सुष्मा खातीले गोल गरेकी थिइन् । यता उपविजेता टिमको लागि खेलको ६४औं मिनेटमा संरचना श्रेष्ठले गोल गरेकी थिइन् ।

जितसँगै विजेता ताप्लेजुङ र उपविजेता झापाले क्रमशः नगद रु. एक लाख एक हजार र रु. ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको वूमन अफ दी टुर्नामेन्ट संरचना श्रेष्ठ(झापा), बेस्ट गोलकिप्पर यमुना गुरुङ (ताप्लेजुङ), बेस्ट डिफेन्स खुस्मा राई (झापा), बेस्ट मिडफिल्डर सम्झना लावती (झापा), बेस्ट फरवार्ड सुष्मा खाती (ताप्लेजुङ) घोषित भएका थिए ।

विजेता र उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिनिधि सभाका सांसद् पवित्रा निरौला खरेल, प्रदेश सांसद्हरु अर्जुन राई, जसमाया गजमेर, बलबहादुर साम्सुहाङ र होमकुमारी साँवा, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईं, अर्जुनधारा–१०का वडाध्यक्ष बलदेवसिंह गोम्देनलगायतले पुरस्कृत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य एवम् नगर प्रमुख हरिकुमार रानाले गरेका थिए ।

कार्यक्रमको सञ्चालन सुखानी शहीद स्मृती उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ बराल र प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीले गरेका थिए ।