महिला सशक्तिकरणमा कांग्रेसी महिलाहरु « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

महिला सशक्तिकरणमा कांग्रेसी महिलाहरु


यलम्वर टाइम्स
३२ श्रावण २०७३, मंगलवार १२:२४

congressधरान / सुनसरी क्षेत्र नं. १ धरानका महिलाहरुको राजनीतिक एवम् सामाजिक सशक्तिकरणका कांग्रेस निकट नेपाल महिला संघले वडागत रुपमा प्रशिक्षण अभियान सञ्चालन गरेका छन् ।

नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राईको अगुवाईमा प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हो । नेपाल महिला संघको केन्द्रिय समितिले जिल्लाको आयोजनामा प्रत्येक क्षेत्रमा दुई–दुई जना प्रशिक्षक तयार गरेपछि उनीहरु मार्फत स्थानीय स्तरमा प्रशिक्षण कार्यक्रम भईरहेको कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए । उनका अनुसार हाल क्षेत्र नं. १, ४ र ६ को वडाहरुमा प्रशिक्षण भईरहेको र क्षेत्र नं. २, ३ र ५ मा वर्षातका कारण केही समयका लागि स्थगित गरिएको छ । स्थगित भएका क्षेत्रहरुमा छिट्टै प्रशिक्षण कार्यक्रम शुरु हुने महिला संघले जनाएको छ ।

क्षेत्र नं. १ अन्तर्गत धरान उपमहानगरका वडाहरु १ देखि १२ सम्मको प्रशिक्षण सम्पन्न भईसकेको संघका क्षेत्रीय सभापति राईले बताए । उनले हरेक हप्ता ३–३ वटा वडाहरुलाई समाहित गर्दै प्रशिक्षकहरु निलकुमारी गिरी थापा र निर्मला नेपाल मार्फत प्रशिक्षण दिने गरिएको बताए । उनले धरानको २७ वडामै प्रशिक्षण गरेर स्थानीय तहबाटै महिलाको नेतृत्व विकास गर्ने बताए ।

नेपाली कांग्रेस पार्टी र नेपाल महिला संघको इतिहास, परिचय, मूल्य, मान्यता, आदर्श, सिद्धान्त र उद्देश्य, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद, नेता र नेतृत्व, राजनीतिमा महिलाको भूमिका र अवस्था, महिलाको सामाजिक दायित्व, सुचना तथा सञ्चारको महत्व लगायत विविध विषयमा प्रशिक्षण दिने गरेको प्रशिक्षक एवम् नेपाली कांग्रेस सुनसरी सदस्य निलकुमारी गिरी थापाले बताए ।

सुनसरी क्षेत्र नं. १ बाट प्रारम्भ गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाल महिला संघ सुनसरीका सभापति विजया कटुवालले गरेका थिए । पहिलो पटक महिला लक्षित प्रशिक्षण कार्यक्रम गरिएको भन्दै कार्यक्रमबाट महिलाहरुको नेतृत्व गर्ने आत्मबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने सहभागी महिलाहरुले बताउने गरेको प्रशिक्षक निर्मला नेपालले बताए ।