आवास कार्यक्रम विपन्नलाई बरदान « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

आवास कार्यक्रम विपन्नलाई बरदान


यलम्वर टाइम्स
१४ पुष २०७५, शनिबार ०५:५२

हचुमासा सामुदायिक वनले हस्तान्तरण गरेको घर र पुरानो घर ।

[रमेश समदर्शी]

सिस्ने । नयाँ घरको सिकुवामा ओछ्यान परेका एक बृद्ध दायाँ–बायाँ टोलाइरहेका थिए । बालुवा पन्छाएर बनाइएको आँगनमा नचिनेका धेरै मान्छेको आउजाउ थियो । घरिघरि पुरानो घरलाई पनि नियाल्थे, सन्तमान राई ।

पुरानो घरबाट नयाँ घरमा आउन पाउँदा सायद खुसी थिए होला सन्तमान राई । तर, खुसी व्यक्त गर्ने शारीरिक क्षमता नभएरै उनको खुसी मनभित्र दबेको प्रस्टिन्थ्यो । गहुँ गोरो वर्णका सन्तमानको अनुहार चाउरिएर मुजा परिसकेको छ । जीवनको उत्तरार्धसम्ममा पनि व्यवस्थित घर बनाउने कल्पना नगरेका उनलाई शुक्रबार भने अर्जुनधारा १ को हचुमासा सामुदायिक वन उपभोक्ता समूहले घर हस्तान्तरण ग¥यो ।

प्यारालाइसिसका कारण थलिएका सन्तमान त खुसी हुने नै भए । उनकी श्रीमती लीला राई पनि नयाँ घर पाएपछि दंग थिइन् । प्यारालाइसिसले थलिएका श्रीमानको स्वास्थ्य उपचारसँगै घरको गर्जो टार्ने उनी एकमात्र हुन् । उनी पनि शारीरिक अपाङ्गता भएकी व्यक्ति हुन् । उनको एउटा खुट्टा र हात राम्ररी चल्दैन तर उनले घर व्यवहार चलाउनका लागि बनिबुतो गर्नै पर्छ ।

कामबाट फर्कदैँ गर्दा पाँच वर्षअघि लडेर प्यारालाइसिस भएका सन्तमानको अहिले कम्मरमुनिको भाग चल्न छाडेको छ । २०७३ सालको असार १५ गते बिरिङ नदीबाट गाउँ पसेको बाढीले राईसँगै धेरैको घर बगाएको थियो । अरुको सहयोग र हेफरले दिएको जस्ता पाताले बनाएको टाटीको घर अहिले भत्किसकेको छ । टाटी भत्किन थालेपछि लगाइएको प्लाष्टिक पनि मक्किएर च्यातिएको छ ।

जसोतसो हिउँद(बर्खा कटाउँदै आएका राई परिवारलाई यसवर्षको जाडो कटाउन सकस परिरहेको बेला हचुमासाले सुरक्षित घर हस्तान्तरण गर्दा आगन्तुक अतिथि पनि खुसी देखिन्थे । समूहले अति विपन्न उपभोक्ताको लागि गरिबी निवारण शीर्षकको आवास कार्यक्रममार्फत् उनको परिवारलाई निर्माण गरिदिएको घरको तालाचाबी उक्त कार्यक्रममार्फत् पाएपछि लीलाको मुहार उजालिएको थियो ।

जीर्ण अवस्थामा रहेको उनीहरुको बाँसको घरमा गाँउलेबाट सहयोग जुटाई बिहान र बेलुकाका छाक टार्दै पुसको कठ्याङ्ग्रिने जाडोमा बिरामी पति, एक छोरासहित न्यानो ओतको खोजीमा रहेका विपन्न परिवारलाई समूहले निर्माण गरिदिएको नयाँ घर वरदान भएको छ । दुई कोठा भएको भुइँ ढलान, टिनको छाना र टिनकै बेरा भएको घर निर्माण गर्न एक लाख ७८ हजार पाँच सय खर्च भएको समूहका अध्यक्ष युवराज लोहारले बताए ।

राई परिवारजस्तै अन्य विपन्न १२ जनालाई समूहले घर निर्माण गरी हस्तान्तरण गरेको छ । शुक्रबार तीन परिवारलाई हस्तान्तरण ग¥यो भने गतवर्ष निर्माण भएका ६ र यसै वर्ष बनेका अन्य ३ परिवारलाई समूहले घर हस्तान्तरण गरेको हो ।

प्यारालाइसिसका कारण थलिएका सन्तमान हचुमासा वनले प्रदान गरेको घरमा ।

राई परिवारजस्तै ६२ वर्षीया लक्ष्मीदेवी सुवेदीले पनि शुक्रबार नै घर पाइन् । बाँसको टाटीले बारेको सामान्य एक कोठे घरमा पकाउने, खाने, बस्ने र सुत्ने गरेकी सुवेदी समूहबाट घर पाउँदा दङ्ग छिन् । १७ वर्षको उमेरमा पतिले छाडेपछि एक्लो जीवन बिताइरहेकी उनको सुरक्षित घरमा बस्ने इच्छा समूहले पूरा गरिदिएको छ ।

त्यस्तै, बिरीङ र नेते नदी बग्ने बीचको भागमा छाप्रो हालेर दुई छोरासँग सुकुम्बासी जीवन बिताइरहेकी उपभोक्ता फूलमाया चौधरी अझ खुसी भेटिइन् । उनले भनिन्, ‘बिजोग भएको थियो, अब ढुक्क भएको छ ।’

आर्थिक वर्ष ०७२/०७३मा तत्कालीन समूहका अध्यक्ष रामबहादुर निरौलाको कार्यकालबाट सुरु भएको समूहमा सूचीकृत ८३ विपन्न परिवारमध्ये १२ अति विपन्न परिवारलाई लक्षित गरी पहिलो चरणमा उक्त आवास कार्यक्रम सुरु गरिएको हो । उक्त समितिले एक लाख ३८ हजारका दरले छ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको थियो ।

समूहले आफ्ना सदस्यमध्ये ८३ घरपरिवारलाई अति विपन्नको सूचीमा सूचीकृत गरेर सुरक्षित बसोबासका लागि कार्यक्रम अघि सारेको पूर्वसचिव अमर बस्नेतले बताए । ‘अन्य ७१ परिवार विपन्न भए पनि आवास सुरक्षित छ’, उनले भने, ‘ती सदस्यका लागि समूहले आर्थिक उपार्जनका निम्ति सीपमुलक कार्यक्रम अघि बढाएको थियो, निरन्तरता पनि दिँदै जानेछ ।’

तीमध्ये अझै २० देखि २२ घरधुरीको लागि सुरक्षित आवास आवश्यक हुँदा त्यसलाई पनि हालको समितिले सम्पन्न गर्न आवश्यक रहेको उनी बताउँछन् । समूहका अध्यक्ष लोहार विपन्नका लागि आवास कार्यक्रमले निरन्तरता पाउने दाबी गर्छन् । वन नियमावलीमा अनेक अड्चन भए पनि कार्यक्रम गरेरै छाड्ने उनको भनाइ छ । आवास कार्यक्रमसँगै अति विपन्न तथा विपन्न उपभोक्ताहरुको जीवनस्तर उकास्न विभिन्न आयमुलक र सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने उनले जानकारी दिए ।

घरको साँचो हस्तान्तरण गर्न पुगेका अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले स्थानीय सरकारसँगै सबै सरोकारवाला संघ(संस्थाहरुको सहकार्यमा विपन्न परिवारका लागि घर बनाउने कार्य गरे नागरिकको सुरक्षित आवास कार्यक्रमले पूर्णता पाउने बताए ।

उपभोक्ताको हितका लागि साझेदारी कार्यक्रम बनाउन आग्रह गरेका उनले समूहले बनाएको कार्ययोजना नगरपालिकालाई जानकारी गराए सहयोग गर्ने बचन दिए । समूहका अध्यक्ष लोहारको अध्यक्षता, उपाध्यक्ष सन्तबहादुर मगरले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि भूर्तेल, सब डिभिजन वन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत एकराज दाहाललगायतले उनीहरुलाई घरको तालाचाबी हस्तान्तरण गरेका थिए । घर प्राप्त गर्ने अन्य उपभोक्ताहरुमा अम्बर सुनुवार, नरबहादुर राई र रुक्मिणी दाहाल रहेका छन् । सोही कार्यक्रममा उनीहरुलाई समूहको तर्फबाट न्यानो कम्बल समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गजाधर खतिवडा, सब डिभिजन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत दाहाल, नगर सामुदायिक वन उपभोक्त महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार आछामी, समूहका पूर्व अध्यक्ष रामबहादुर निरौलालगायतले विपन्नलाई आवास कार्यक्रम अनुशरणयोग्य रहेको भन्दै आप्mना भनाइ राखेका थिए ।