नेपाली क्रिकेट टोली उच्च मनोवलका साथ मलेसिया प्रस्थान « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

नेपाली क्रिकेट टोली उच्च मनोवलका साथ मलेसिया प्रस्थान


यलम्वर टाइम्स
१२ भाद्र २०७५, मंगलवार ०७:०७


झापा । एसीसी एसिया कप क्रिकेट छनौट प्रतियोगिता खेल्न सोमबार नेपाली राष्ट्रिय टोली मलेसियातर्फ प्रस्थान गरेको छ ।

एसिया कपको छनौट खेल नेपालसहित आयोजक टिम मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएई), हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् ।

छनौट प्रतियोगितामा सम्मिलित सबै टोलीले पहिलो चरणमा एकअर्कासँग खेल्ने छन् । पहिलो चरणको समाप्ति पश्चात् शीर्ष दुई टोलीले फाइनल खेल खेल्ने छन् भने विजेता टोलीले युएईमा हुने एसिया कपमा सहभागिता जनाउनेछ ।

एसिया कप प्रतियोगिता भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।

श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि नेपाली टोली उच्च मनोवलका साथ मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

नेपालले श्रीलंकामा रहँदा श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरी नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

नेपालले छनोट खेल ओमानसँग भदौ १३, युएईसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ ।