यलम्बर टाइम्स ग्रामीण पत्रकारिताको एउटा खम्बा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

यलम्बर टाइम्स ग्रामीण पत्रकारिताको एउटा खम्बा


यलम्वर टाइम्स
१३ श्रावण २०७५, आईतवार ०८:५३

दिपीन राईलाई मैले २०५० सालतिर चिनेको हो । त्यही बेलादेखि नै पत्रकारिता पेशालाई मूल पेशा बनाएर अगाडि बढेका दिपीन आज पनि उस्तै सक्रिय देखिनुहुन्छ । पत्रकारिता आफैमा एउटा जटिल र गम्भिर क्षेत्र हो, जसमा धेरै चुनौति र काम अवसर हुन्छ । तर, उहाँमा चुनौतिलाई सामना गर्ने र अवसरको खोजी गर्न सक्ने क्षमता देख्छु म ।

एउटा समय थियो, उहाँले मुक्ति आवाज साप्ताहिक चलाउनु हुन्थ्यो । म त्यसबेलाका कुरा सम्झन्छु, उहाँ एउटा अधिकारवादी पत्रकार हो । जो, आफ्नो मिडिया मार्फत मूलतः पछाडि पारिएका समुदायको हक र हितका लागि कलम चलाउनु हुन्थ्यो, लगातार । मुक्ति आवाज साप्ताहिक त्यो प्रतिनिधि पात्र थियो, जसमा लगातार जसो मैले यस्ता बिषयमा लेख लेखेको छु ।

आज पनि उहाँमा रहेको निरन्तरता र धृण शक्तिले उर्जा थपिरहेको छ । यो पेशालाई उपयोग गर्ने र पलायन हुनेहरुको कमी छैन । तर, दिपीनजीमा रहेको सहनशक्ति र कुनै पनि विषयलाई सहजरुपमा लिएर अगाडि बढ्ने कला छ, त्यो प्रसंसा गर्न योग्य छ । पत्रकारितामा मूलतः निरन्तरता, मेहनत र सक्रियता आवश्यक हुन्छ । यी तिनबटै कुरा उहाँमा देखिन्छ ।

अहिले त अलिक सजिलो छ, पत्रकारिता गर्न । बिगत यस्तो थियो, कुनै अवसर पनि थिएन र सम्भावना पनि । अझ राजधानीभन्दा धेरै पर बसेर एउटा मिडियालाई ११ बर्षसम्म टिकाएर राख्नु नै आफैमा ठूलो कुरा हो । यदी यसलाई टिकाउन हरसम्भव प्रयास नगरेको भए, यलम्बर टाइम्सले यो दिन देख्ने नै थिएन । अझै पनि सबै स्रोत र साधन केन्द्रिकृत नै छ । बल्लतल्ल स्थानीय तहको चुनाव पछि स्थानीय सरकार आएपछि केही सम्भावना र अवसर देखिएका छन् । यद्यपि, पूर्णतया त्यस्तो वातावरण बनिसकेको छैन ।

सूचना र प्रसारप्रचारको माध्यमबाट जसरी कोही व्यक्ति र समुदायले काँचुली फेरेको छ भने त्यो नेपाली समुदाय नै हो । सूचनाको पहुँच गाउँ गाउँमा पुगेको छ, तर यसको सही सदुपयोग हुन सकेको छैन । खासगरी यलम्बर टाइम्स साप्ताहिक एउटा यस्तो बिम्ब हो, जसले ग्रामीण समुदायको त्यो माग पूरा मात्र गरेको छैन, लत पनि बसाएको छ । यलम्बर टाइम्स ग्रामीण पत्रकारिताको एउटा खम्बा हो, जसले उठाएका र उठाउने हरेक मुद्दाले बहसको बिषय जन्माउँछ ।

अन्त्यमा, यलम्बर टाइम्स साप्ताहिक र प्रकाशन टिमलाई बिशेष शुभकामना । खासगरी नेपाल पत्रकार महासंघको प्रादेशिक संरचनाको बिकास भएपछि साना लगानीमा खुलेका मिडियाको विकास, संरक्षण र प्रवद्र्धनमा प्रदेश कमिटी लागेको कुराको जनाउ दिनु पनि आफ्नो कर्तव्य ठान्दछु । साथै, यलम्बर टाइम्सको निरन्तरताको शुभकामना सहित अग्रगतिको कामना पनि व्यक्त गर्दछु ।
(सिग्देल नेपाल पत्रकार महासंघ १ नं. प्रदेश कमिटी सदस्य हुन्)