एन्फा कपको उपाधि जनता मावि र राष्ट्रिय रमणीयलाई « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

एन्फा कपको उपाधि जनता मावि र राष्ट्रिय रमणीयलाई


यलम्वर टाइम्स
२५ असार २०७५, सोमबार ०७:०१

अर्जुनधारा । झापा जिल्ला फुटबल संघको आयोजनामा गत असार १५ देखि आयोजित एन्फा कप अन्तर विद्यालय छात्रछात्रा राष्ट्रिय फुटबल प्रतियोगिता-२०७५ को उपाधि जनता मावि खुदुनावारी र राष्ट्रिय रमणीय आदर्श मावि दुधेले जितेको छ ।

अर्जुनधारा-११ बुट्टाबारीस्थित देउनिय प्रगति टोलको खेल मैदानमा छात्रतर्फ लिटल एञ्जल्स् इङलिस स्कुललाई ०-६ गोल अन्तरले र छात्रातर्फ महारानीगञ्ज माध्यमिक विद्यालय सालबारीलाई टाइब्रेकरमा २-३ गोल अन्तरले पराजित गर्दै जनता र राष्ट्रिय रमणीय प्रतियोगिताको उपाधि जित्न सफल भएका हुन् ।

जनताको जितमा विशाल साँवा लिम्बूले गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे । त्यसैगरी पासाङ तामाङले दुई गोल गरे । थप एक गोल मानबहादुर लिम्बूले गरे । जितसँगै विजेता टिमले शिल्ड, मेडल, प्रमाणपत्रसहित जनही १० हजार रुपैयाँ र उपविजेता टिमले शिल्ड, मेडल, प्रमाणपत्रसहित जनही पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा छात्रतर्फको बेस्ट गोलकिप्पर मञ्जिल नेम्वाङ (जनता), बेस्ट डिफेन्स दिवाकर दाहाल (लिटल एञ्जल्स), बेस्ट मिडफिल्डर मानबहादुर लिम्बू (जनता), बेस्ट स्ट्राइकर विशाल साँवा लिम्बू (जनता) र राइजिङ स्टार किसन सरदार (अरुणोदय मावि) घोषित भएका छन् ।

त्यसैगरी, प्रतियोगितामा छात्रातर्फको बेस्ट गोलकिप्पर दिपा चौधरी (राष्ट्रिय रमणीय), बेस्ट डिफेन्स जून मगर (महारानीगञ्ज मावि), बेस्ट मिडफिल्डर देविका पालुङवा (राष्ट्रिय रमणीय), बेस्ट स्ट्राइकर भूमिका मिश्र (राष्ट्रिय रमणीय) र राइजिङ स्टार ग्रिष्मा राई (टावर टेम्पल अङग्रेजी मावि) घोषित भएका छन् ।

संघका अध्यक्ष भगिरथ आले मामाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, अर्जुनधारा-१०का वडाध्यक्ष बलदेवसिंह गोम्देन, ९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईं, समाजसेवीहरु हस्त परियार र जगत राना मगर, प्रतियोगिताका संयोजक बुद्धराज लिम्बूलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

प्रतियोगिताको विजेता दुवै विद्यालय प्रदेशस्तरीय राष्ट्रिय फुटबल प्रतियोगिताका लागि छनोट हुने संघका अध्यक्ष मामाले जानकारी दिए । संघका उपाध्यक्ष मनेष दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शेरबहादुर बस्नेतले गरेका थिए ।
प्रतियोगितामा छात्रतर्फ २० वटा र छात्रातर्फ ८ वटा विद्यालयको सहभागिता रहेको थियो ।