गँड्यौलाबाट प्राङ्गारिक मल उत्पादन प्रविधि

शालिकराम भट्टराई
प्रविधि लेखन तथा संकलन

परिचय

गँड्यौलालाई व्यवस्थित पालन गरेमा गँड्यौलाबाट पनि प्राङ्गारिक मल तयार गर्न सकिन्छ । मल भन्नाले गँड्यौलाहरुलाई प्राङ्गारिक पदार्थहरु खुवाएर त्यसबाट विष्टाको रुपमा निकालिएको सडेगलेको कम्पोष्ट मलको समिश्रणलाई नै गड्यौले मल भनिन्छ । गँड्यौंला एउटा उपयोगी जीव हो । धेरै पहिलेदेखि नै गँड्यौलालाई कृत्रिम तरिकाबाट पाल्ने र त्यसको उपयोग गरी गड्यौला मल उत्पादन गर्ने काम भई रहेको छ । गँड्यौलाले खाएको खाना पाचन नलीमा धेरै बेर रहँदैन र धेरै पनि रहँदैन । खाएको ५–१० भाग मात्र शरीर उपयोगको लागि प्रयोग हुन्छ । अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछ, जसलाई काष्ट भनिन्छ । यसले खाएर पचाएर दिशाको रूपमा फालेको दानेदार मललाई गँड्यौंलाबाट तयार पारिएको कम्पोष्टमल वा गँड्यौलीमल भनिन्छ । गड्यौला विभिन्न प्रजातिका हुन्छन् । संसारमा ४००० प्रजातिका गड्यौला पाईन्छन् । यि गड्यौलाहरुलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

१. एण्डोजेईक
२. इपिजेइक

एण्डोजेईकः यस प्रजातीका गँड्यौलाहरु जमिनको भित्रि भागमा पाईन्छ र माटो मात्र खाने गर्दछ । यि प्रजाती गँड्यौला मल बनाउन प्रयोग हुँदैन ।

इपिजेइकः यस प्रजातीका गँड्यौला जमिनको सतहमा वस्छन् र जैविक पदार्थ मात्र खान्छन् । तसर्थ गँड्यौला मलको लागि यही प्रजातीको गँड्यौला प्रयोग गरिन्छ । हाल भर्मि कल्चरको लागि प्रयोग हुने गँड्गौलाहरु निम्न प्रकारका छन् ।

क) इस्निया फोइटिडा
ख) युड्रिलस युजिनियल
ग) पेरियोटक्स एक्स्याभेट
घ) लुव्रिकस रेवेलस
ङ) ल्यामपिटो म्याउरिटी

इपिजेइक प्रजातीका गड्यौलाको विशेषताहरुः

यी प्रजातीका गँड्यौलाहरु करिब २–३ इन्च लामो, मसिनो, रातो र फुस्रो पहेलो रङ्ग र शान्त स्वाभवको हुन्छ । यसले जन्मिएको ४०–४५ दिनपछि सन्तान उत्पादन गर्न शुरु गर्दछ । गँड्यौला अरु प्राणी जस्तै भाले पोथी छुट्टिदैन । एउटै गँड्यौलामा भालेपोथी हुन्छ । र संसर्ग पश्चात दुवैले फूल पार्दछ । संसर्ग भएपछि प्रत्यक २–३ दिनको बीचमा एउटा फूल (कोकोन) पार्छ । यो फूल पार्ने प्रकृया ४–६ हप्तासम्म लगातार चलिरहन्छ ।

एउटा अण्डाबाट ३–५ वटा बच्चा निस्कन्छ तर बाच्ने प्रतिशत धेरै कम हुन्छ । यसको जीवन चक्र १५०–१८० दिनमा पूरा हुन्छ । एउटा वयस्क गँड्यौलाको तौल १–१.५ ग्रामसम्म हुन्छ । उचित वातावरण, बासस्थान र खानाको राम्रो बन्दोबस्त भएमा एउटा वयस्क गड्यौलाले १ दिनमा सालाखाला १–७ ग्राम खान्छ र ०.८–६ ग्रामसम्म मल उत्पादन गर्छ । तसर्थ १ के.जी गँड्गौलाले प्रतिदिन करिव ०.८–६ केजीसम्म मल उत्पादन गर्छ ।

गँड्यौला मलको महत्व

– यो बिरुवाको आवश्यक खाद्यतत्वको राम्रो स्रोत हो ।

– यो मलमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुन्छन् र बिरुवाले यसमा भएका खाद्यतत्वहरूलाई सजिलैसँग लिन सक्दछ ।

– यिनले माटोमा छिद्रको संख्या बढाउने काम गर्दछन् । हावाको आवागमन राम्रो हुन्छ ।

– यति मात्र नभएर गँड्यौलाको काष्टमा कोकन पनि हुन्छन् । कोकनबाट बच्चा जन्मन्छ, जसलाई पछि मल बनाउन प्रयोग गरिन्छ अर्थात् प्राङ्गारिक पदार्थ खाने काम गर्दछ । यसले पनि मल तयार पार्दछ ।

– यो मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकोले अरू मलभन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ ।

– यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको बृद्धी बिकास पनि छिटो हुन्छ ।

– गँड्यौला कम्पोष्टको कार्बनः नाईट्रोजन अनुपात परम्परागत गोठेमल वा कम्पोष्टकोभन्दा कम हुन्छ र यसमा भएको नाईट्रोजन बिरुवालाई तुरुन्तै उपलब्ध हुन्छ ।

– यसको पीएच पनि परम्परागत कम्पोष्टभन्दा कम हुने हुँदा नाईट्रोजनको नोक्सानी पनि कम हुन्छ । गँड्यौला कम्पोष्टको यही गुणले गर्दा खडा बालीमा पनि यसको प्रयोग ९त्यउ म्चभककष्लन० गर्न सकिन्छ ।

– खेती र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाईने हुदाँ वातावरणलाई स्वस्छ राख्न मद्धत पुग्दछ ।

– गँड्यौलालाई राम्ररी पखालेर सुकाएर माछाको दानामा मिसाएर खुवाउन सकिन्छ ।

– गड्यौला बढी उत्पादन भएमा हासँ, कुखुरा आदिको आहारा बनाउन सकिन्छ ।

गँड्यौला मलमा पाईने खाद्यतत्वको बिवरण

बिवरण                                           गँड्यौला मल
पि.एच.                                                 ६.८
लवण (mmhos/cm)                            ११.७
कुल नाईट्रोजन (प्रतिशत)                         १.९४
नाईट्रेट नाईट्रोजन (पिपिएम)                ९०२.२
फस्फोरस (प्रतिशत)                                ०.४७
पोटास (प्रतिशत)                                    ०.७
क्याल्सियम (प्रतिशत)                             ४.४
सोडियम (प्रतिशत)                                  ०.०२
म्याग्नेसियम (प्रतिशत)                           ०.४६
आईरन (पिपिएम)                             ७५६३

गँड्यौला पालन गर्दा ध्यान दिनु पर्ने कुराहरुः

– अमिलो जातको फलफूल राख्नु हुँदैन

– कमिला (रातो कमिला) गड्गौलाको शत्रु भएकोले भरसक गुलियो खानेकुरा राख्नु हुँदैन ।

– मासु/माछाजन्य खानेकुरा वा तिनबाट निस्केको फोहर प्रयोग गर्नु हुँदैन ।

– तेलजन्य खानेकुरा राख्नु हुँदैन ।

– फोहर फाल्दा सकेसम्म टुक्राएर वा काटेर प्रयोग गर्नु पर्दछ ।

– गँड्यौला धेरै सुख्खा वा धेरै चिस्यान भएको ठाँउमा वस्न नसक्ने भएकोले सकेसम्म ओसिलो हुने गरी फोहर राख्नु पर्दछ ।

– गँड्यौला १०–३२ डिग्री सेल्सियस भएको तापक्रममा मात्र वस्न सक्ने भएकोले तामक्रममा विशेष ख्याल राख्नु पर्दछ ।

– मुसा, छेपारो, कमिला, पाल्तु जनावरबाट गँड्यौलालाई बचाउनु पर्दछ ।

– गँड्यौला २०–६०% ओसिलोपना भएको ठाउँमा वस्न मनपराउछ ।

– कम्पोष्ट तयार पार्न राखिएका वस्तुहरू लचक्क भिजेको हुनु पर्दछ । हातले मुठी पारी निचोर्दा ३देखि ४ थोपा जती पानी झर्न सकोस् ।

– गँड्यौला कम्पोष्ट बनाउन आँसिक रुपमा पाकीसकेको वस्तुहरु प्रयोग गरिन्छ । खासगरी गोबरमल तथा हरियो घाँसपात प्रयोग गर्दा १०–१५ दिन कुहिन दिएर प्रयोग गर्नुपर्दछ ।

– ०.५ वर्ग मिटरको सामग्रीको लागि २ मुठी माटो राख्न राम्र्रो हुन्छ ।

– कम्पोष्ट थुप्रोको तापक्रम १५–२७ सेन्टीगे्रटको बीचमा हुनुपर्दछ ।

– गँड्यौला कम्पोष्ट बनाउने ठाउँमा घामपानी नपर्ने व्यवस्था मिलाउनुपर्दछ ।

गँड्यौला कम्पोष्ट बनाउन चाहिने आवश्यक वस्तुहरूः

– आँशिक कुहेको प्राङ्गारिक पदार्थ

– गोेठेमल

– माटो

– गड्यौलाको बिउ

गँड्यौलाको छनौट

नेपालमा इस्निया फोइटिडा जातको गँड्यौला प्रयोग गर्न राम्रो हुन्छ ।

गँड्यौला मल उत्पादन गर्ने तरिका

स्थानः

गँड्यौला मल उत्पादन गर्न सबभन्दा पहिले गँड्यौला पाल्नको लागि स्थानको व्यवस्था पर्नु पर्दछ । गँड्यौलालाई घरभित्र वा खुल्ला ठाँउ दुवैमा पाल्न सकिन्छ । घरभित्र गड्यौला पाल्दा कुनै पनी भाँडा जस्तै काठको बाकस, बाँसको टोकरी, वाटा, सिमेन्टको टप, डालो आदि प्रयोग गर्न सकिन्छ ।

गँड्यौला पाल्ने भाँडा विभिन्न आकार प्रकार र क्षमताको भएतापनी भाडाको चौडाई र उचाई १–१ फिट भएको र पिधमा पानी पानी चुहिने व्यवस्था भएको हुनु पर्दछ । घर बाहिर खुल्ला ठाँउमा गँड्यौला पाल्दा छायाँ भएको ठाँउ वा छाना को व्यवस्था भएको ठाँउको प्रयोग गर्नु पर्दछ । व्यवसायिक रुपमा गँड्यौलाले मल उत्पादन गर्न पानीको निकास भएको करीब ३ फिट लम्वाई, २ फिट चौडाई र १.५ फिट उचाईको टयाङ्कीको व्यवस्था गर्नु पर्दछ ।

ओछ्यानः

गँड्यौला पाल्ने भाडामा ओछ्यानको व्यवस्था गर्नु पर्दछ । ओछ्यान वा सोत्तरको लागि ३–४ इन्च जती बाक्लो जुट, पराल, नरिवलको जट्टा, सुतीको कपडा, काठको धुलो जस्ता वस्तुको प्रयोग गरी नरम आट्आन लगाई दिनु पर्दछ ।

गोवर/पुरानो मलको प्रयोग

गोवर अथवा पुरानो मल २–३ मुठी छर्की दिनु पर्दछ । गोवर शिशु गँड्यौलाको आहारा हो भने पुरानो मलकम भउको सुक्ष्म जिवाणुले फोहरलाई छिटो कुहाउन मद्धत गर्दछ ।

चिस्यान बनाउनेः

ओछ्यान वा सोत्तर र गोवरलाई पानीले राम्ररी भिजाउनु पर्दछ । सुख्खा वा वढी पानी भएको ठाँउमा गँड्यौला बाँच्न सक्दैन । बढी पानी भएको खण्डमा गँड्यौला पानीमा डुबेर मर्न सक्छ । किनभने गँड्यौलाले आफ्नो छालाबाट सास फेर्दछ । बढी भएमा पनि गँड्यौला सुकेर मर्न सक्छ किनकी गँड्यौलाको शरीरमा लगभग ८० प्रतिशत पानी हुन्छ ।

जैविक फोहर राख्ने

यसरी बनाईएको आछ्यान वा सोत्तरमाथि एक हात उचाईसम्म जैविक फोहर हाल्नु पर्दछ । एक हात उचाईभन्दा बढी फोहर हाल्नु हुँदैन । बढी फोहर हाल्दा फोहर कुहिने क्रममा तापक्रम बढ्न गई गँड्यौला उक्त मलमा जान सक्दैन र मल बन्न ढिलो हुन्छ । गँड्यौलालाई जैविक फोहर हाल्नुभन्दा पहिले फोहरलाई केही दिन त्यसै बाहिर राखि अलिकति कुहाउने र पानीको मात्रा कम हुन दिई प्रयोग गर्दा गँड्यौला मर्ने खतरा कम हुन्छ । सबैभन्दा राम्रो जैविक फोहरलाई २ हप्ता जती कुहाएर फोहर गँड्यौलालाई प्रयोग गर्दा राम्रो हुन्छ ।

भर्मिकल्चर प्रयोग

इस्टिया फोइटिडा भर्मि कल्चरको लागि सबैभन्दा राम्रो मानिन्छ । यो प्रजातीको गँड्यौला अरु प्रजातीको भन्दा छिटो खाने, पाचन छिटो गर्ने क्षमता भएको र छिटो मल उत्पादन गर्ने भएकोले भर्मि कल्चरमा यसको बढी प्रयोग भएको पाईन्छ । १० फिल लम्बाई र १ हात उचाई भएको भर्मि कम्पोष्टको वेडमा ओसत ४०० देखि ५०० किलो फोहर हुन्छ । उक्त फोहरलाई ४०–५० दिनमा गँड्यौलालाई खुवाउनु छ भने करिब ५ किलो गँड्गौला चाहिन्छ । थोरै गँड्यौला भयो भने मल बन्न समय लाग्छ र धेरै गड्यौला भयो भने विशेष केही फाईदा हुन्छ ।

छोप्नेको व्यवस्था गर्ने

गँड्यौला राखि सकेपछि जुटको बोरा वा परालले छोप्ने व्यवस्था मिलाउनु पर्दछ । गँड्यौला छोडेपछि मसिनो गरी काटेको जैविक फोहरले करिब ४ इन्च बाक्लो गरी छोपी दिनु पर्दछ । गँड्यौलाले खाने काम वेडमा गर्दछ भने काष्टिङ्ग वेडको माथिल्लो सतहमा आएर गर्दछ । गँड्यौला अध्यारोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर आउँदैन ।

तसर्थ भर्मि कल्चर गरेको भाँडा छोपीदिनाले गड्यौला त्यही फोहरमा रहेर लगातार खान पाउछ र माथी आएर मल उत्पादन गर्दछ ।
अनुसन्धान अनुसार २.९ किलो जैविक फोहरबाट १ किलो मल उत्पादन हुन्छ ।

गँड्यौला मल संकलन गर्ने तरिकाः

गँड्यौलाले फोहर खाएर दिसा गर्दछ त्यो दिसा नै गँड्यौले मल हो । सामान्यतया गँड्यौला पालेको ३–४ महिना पछि यस्तो मल संकलन गर्न सकिन्छ । भर्खर निकालेको मल कालो, चिप्लो खालको र सानो पोतेको दाना जस्तो देखिन्छ । गँड्यौला मल दुई तरिकाले संकलन गर्न सकिन्छ ।

क) घोप्ट्याउने र छुट्याउने तरिकाः

मल संकलन गर्ने बेला सबैभन्दा पहिले ढकनी हटाएर सतहको खानेकुरा निकाल्नु पर्दछ । खानेकुरा सबै झिकिसकेपछि प्लाष्टिक वा कपडा वा कागज केही वेर विछ्याई त्यस माथि भाडामा भएको गँड्यौला सहितको मल घोप्ट्याउने र त्यसमा चुली पारेर थुपार्नु पर्दछ । थुप्रोमा ५ मिनट जति प्रकाश त्यसै छोड्ने जसले गर्दा गँड्यौला तल्लो भागमा जम्मा हुन्छ । माथिबाट अञ्जुलीले झिकेर एउटा भाडामा राख्ने । यसरी मल मात्र झिकी सकेपछि फेरी उक्त गँड्यौला पालन गर्न सकिन्छ ।

ख) गँड्यौला आफै छुट्टिने तरिका

माथि लेखिए जस्तै ढकनी हटाएर सतहको खानेकुरा सबै पन्छाउने । त्यसपछि गँड्यौला सहितको मल भाडाको एक छेउबाट सारेर अर्कोतिर थुपार्नु र बाँकी भाग खाली गर्नु पर्दछ । खाली ठाँउमा पुरानो वा नयाँ बिछ्यान राखेर त्यसमाथि गोबर र जैविक फोहर मिसाई एक हात उचाईसम्म राख्नु पर्दछ ।

पुरानो थुप्रोमा खानेकुरा नपाएर गँड्यौला नयाँ थुप्रोतिर आफै आँउदछ । १०–१५ दिनमा पुरानो थुप्रोतिर मल बाँकी रहन्छ । त्यसपछि मल झिकेर गँड्यौलाको फूलबाट (कोकोन) बच्चा निकाल्न अर्को भाडामा संकलन गर्नु पर्दछ । मल तयार भएको १–२ महिनापछि मात्र प्रयोग गरेमा गँड्यौलाको काकोनबाट बच्चा गँड्यौला संकलन गरी फाईदा लिन सकिन्छ ।

मलबाट बच्चा निकाल्ने तरिकाः

गँड्यौलाको मलसँग थुप्रै गँड्यौलाहरु र कोकोनहरु हुन्छन् । तसर्थ मल तुरुन्तै प्रयोग गर्नु हुँदैन किनकी यस पैविधिमा गँड्यौलाहरुको उत्पादन र वृद्धि गर्न उत्तिकै आवश्यक भएकोले संकलित मललाई एउटा अलग्गै भाडामा राख्नु पर्दछ । ४–६ हप्ताभित्र कोकोनबाट बच्चा गड्यौला निस्कन थाल्दछ र शिशु गँड्यौलाहरु ठूला भइसकेका हुन्छन् । अब यी गँड्यौलाहरुलाई छानेर मल प्रयोग गर्न सकिन्छ ।

मलको प्रयोगः

तयार भएको मललाई फलफूल बालीलाई बोटको अवस्था अनुसार करिब १ दखि १० के.जी. प्रति बोटका दरले राख्न सकिन्छ । अरू बालीको लागि २३५ केजी प्रतिका दरले प्रयोग गर्न सकिन्छ ।

(भट्टराई अर्जुनधारा नगरपालिकाका योजना अधिकृत तथा कृषि विकास शाखा प्रमुख हुन् ।)

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd