फोनिज आवाज बिहिनहरुको आवाज बन्नुपर्छः उपराष्ट्रपति पुन « Yalambar Times
८ बैशाख २०८१, शनिबार

फोनिज आवाज बिहिनहरुको आवाज बन्नुपर्छः उपराष्ट्रपति पुन


यलम्वर टाइम्स
२४ चैत्र २०७४, शनिबार ०२:१२

काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठौं महाधिवेशनको उद्घाटन गर्दै आवाज बिहिनहरुको आवाज उठान गर्न फोनिज सक्रिय हुनुपर्ने बताएका छन् ।

नेपाल पुलिस क्लबको सभाहलमा भएको महाधिवेशनमा प्रमुख अतिथि समेत रहेका उपराष्ट्रपति पुनले आदिवासी जनजाति, अल्पसंख्यक, मधेसी र राज्यमा आउन नसकेका वर्ग, सम्प्रदायको आवाजलाई राज्यसम्म ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएको हुँदा फोनिज त्यसतर्फ लाग्नुपर्ने बताए ।

उनले अगाडि भने –‘मुलुक लोकतान्त्रिक पद्धतिमा अगाडि बढिरहेको बेला राज्यले कसैलाई काखा, कसै पाख गर्दैन । आम समुदाय राज्यस्तरसम्म आउन नसक्ने भएको हुँदा तिनीहरुको माझमा पुगेर तिनका दुःख, पीडा उजागर गर्नु सञ्चारको महत्वपूर्ण भूमिका हुन्छ ।’

कार्यक्रममा सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बास्कोटाले सञ्चार नीति तथा समानुपातिक विज्ञापन प्रणाली राज्यले प्रदान गर्दै आएको बताउँदै सञ्चार क्षेत्र पनि जिम्मेवार र उत्तरदायि हुनुपर्ने बताए । मन्त्रि बास्कोटाले अगाडि भने –अहिले आम अखबारभन्दा पनि अनलाईन सञ्चार दर्ता र प्रक्रिया बिना नै अनेक गलत सूचनाहरु प्रकाशित गर्ने भएको हुँदा त्यसलाई नीतिसंगत ल्याउन राज्य तयार हुने बताए ।

हामी सरकारमा रहिन्जेल कुनै पनि सञ्चारमाध्यमलाई काखा या पाखा नगरिने बताउँदै आमसञ्चार जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बलामले अझै पनि आदिवासी जनजातिलाई सत्ताबाट विभेदीकरण गरेको बताउँदै सत्ताबाट प्राप्त अधिकार आदिवासी जनजातिलाई दिन कञ्जुस्याँई गरेको आरोप लगाए ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुको हक हितका लागि राज्य चनाखो हुनुपर्ने बताउँदै पत्रकारहरुको सेवा सुविधा र श्रमजीवि कार्यान्वयन गर्न राज्यको अह्म भूमिका हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व महासचिव उजिर मगरले आदिवासी जनजाति पत्रकारहरुलाई हरेक कार्यमा अगाडि बढाउन राज्यको अह्म भूमिका हुने हुँदा सत्ता पक्षको ध्यान त्यसतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

फोनिजका अध्यक्ष ढण्ड गुरुङको सभापतित्वमा भएको कार्यक्रममा फोनिजका सल्लाहकार दिपीन राई, महासंघका पूर्व उपाध्यक्ष संजय सन्तोषी राई, फोनिजका पूर्व अध्यक्ष खिन घले, तिलक पुन लगायतको आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा फोनिजबाट सहभागि भई महासंघको केन्द्रीयस्तरको नेतृत्वमा पुगेका महासंघ केन्द्रीय सदस्य सटेन्द्र जवेगु, केन्द्रीय सचिव लक्ष्मी पुन, केन्द्रीय सदस्य राजेश चाम्लिङ, लेखा समितिका मिरा बज्रचार्य, टीका प्रधान लगायतलाई प्रमुख अतिथि उपराष्ट्रपति पुनको हातबाट सम्मान प्रदान गरिएको थियो ।

देशभरका करिब ५ जना प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको सञ्चालक महासचिव गजुरधन राईले जानकारी दिए ।