विद्यालयमा अध्ययन गर्दाको सम्झना

[दिपीन राई]

बाल्यकालको समय साँच्चिकै सुन्दर र आनन्दीत हुँदो रहेछ । यो बेला बल्ल थाहा पाइयो । उस बेला फाटेको हाफपाइन्ट र खाली खुट्टा हातमा २/४ वटा कपि र कलम च्यापेर कुद्दै कुद्दै विद्यालय जाँदा र झ्यालबाट हाम्फालेर वयर र झ्यालमुरी खाँदाको आनन्दको वर्णन गर्न सकिदैन ।

विद्यालयमा पैसा हुँदा गुड मिठाई, झ्यालमुरी, पैसा नहुँदा वयर, आँप र सुपारी खान पुग्थ्यौं । आफूभन्दा ठूला दिदीहरुले पाचक र बीरेनुनसँग खोर्सानी पिसेर ल्याएको अचारसँग स्कुल नजिक छिमेकीको बारीमा फलेको मेवा चोरेर खाँदाको क्षण मेरो मनसपटलमा आज पनि ताजै छ ।
पैसा र राम्रो स्कुलले ड्रेस (कपडा)को त कुरै छाडौं । विरिङ, फुलमती खोलामा बालुवाले दाँत माँझेर र ढुंगाले खुट्टा घोट्दै स्वास्थ्य चेक जाँचमा सरिक हुँदा शिक्षक विमल मोक्तान सरले ‘जे होस आज दिपीन सफा भएर आएछ’ तर हाफपाइन्टबाट पछाडीको भाग देखिएको हुँदा आईतबार आउँदा टालेर आउने भनेर एक सिर्कना खाएको हिजो अस्ती जस्तो लाग्छ ।

उसबेला (अर्जुनधारा वडा नं. २ पाराखोपी हाल नपा ७) बाजे गजबहादुर लिम्बूले मलाई डोर्याउँदै डोर्याउँदै अरुणोदय प्रावि पाराखोपीमा नाम लेखाई दिनुभएको थियो । सुरु सुरुमा बाजे हजुरले काधमा बोकेर स्कुल पुर्याई दिनुहुन्थ्यो । पछि मसँग राजु काफ्ले, मनबहादुर कटुवालसँगै जान्थ्यौ । पछिपछि चन्द्र मगर, रमेश, राम पनि हुन्थ्ये ।

प्रेम सर फुलबारीबाट साईकलमा आउनु हुन्थ्यो । हामी सरको पछिपछि कुद्दै स्कुल पुग्थ्यौं । कहिले काँही सबैलाई स्कुल हिंडभन्दै हामीलाई अगाडि खेदाएर उहाँ पछिपछि आउनु हुन्थ्यो । त्यस समयमा मेरो पढाई अबल्ल नभएतापनि निरन्तर विद्यालय जानेमा म पनि पथ्र्ये । घरको अवस्था दयनिय थियो तर, बाजेको प्रेरणा र बिहानको खाना घरमा नपाक्दा पाउरोटी र पानीको भरमा विद्यालय जान छाडिएन ।

मेरो स्कुल टेकाई २०३६/१२/५ गते हो, रहेछ । छ वर्ष पुगेका नानीहरुलाई मात्र विद्यालयमा भर्ना लिने त्यो बेला चलन थियो । कक्षा १ मा पुग्न एक वर्ष लाग्ने गरेको हुँदा कक्षा ३ मा पुग्दा ९ वर्षको थिएँ । त्यही समयमा हुनुपर्छ नेपाली पढाउने प्रेम सरको बच्चा निमोनियाका कारण मृत्यु भएको रहेछ । बच्चाको स्नेहताले बस्नेत परिवारले टाढा नराखी छेवैमा खाडल खनी दाहसंस्कार गरेका रहेछन् । तर जहाँ बच्चा दाहसंस्कार गरी पुरियो त्यस ठाउँको जग्गा अर्कैको परेको कारण बच्चा (लास)लाई निकालेर अर्कै ठाउँ गाँड भनी जग्गा वालाले शोकाकुल बस्नेत परिवारलाई दबाब दिएका रहेछन् ।

बस्नेत परिवार शोकमा परिरहेको बेला त्यहीमाथि पुरेको बच्चालाई निकालेर अर्को ठाउँमा गाड भन्नु त्यो भन्दा अर्को दुःख लाग्दो क्षण बस्नेत परिवारमा थिएन । सरको त्यो पीडा हामीलाई आध्योपान्त राखेपछि सारा विद्यार्थी ढुंगा मुडा र लाठी लिएर फुलबारी प्रेम सरको घरमा पुग्यौं । बाल्यकालै थियो त्यसपछि के कसो गरी वार्ता मिल्यो थाहै भएन ।

हामी विद्यालय पढ्दा पञ्चायती शासन थियो । ‘शिक्षाको पहुँचबाट कोही विद्यार्थी बञ्चित नहुन’ भन्ने नारा भित्तामा लेखिएका हुन्थ्ये । स्कुल समयमा नै लाग्थ्यो, समयमा नै छुट्टी हुन्थ्यो । पृथ्वी जयन्ती, महेन्द्र जयन्ती, राजा रानीको जन्मोत्सवमा खुब मिठाई खुवाई हुन्थो । खेलकुद, हाजिरी जवाफ प्रतियोगिता हुन्थ्ये । प्रत्येक विद्यालयमा स्काउट खेलाई थियो । पिरियड लाईनमा श्रीमान गम्भीर नेपाली….. राष्ट्रिय गान गाएपछि अनुशासनका कुरा सिकाइन्थे । विद्यालयमा हेड सर भनेपछि सबै नतमस्तक भएर उभिनु पथ्र्यो, डराइन्थ्यो ।

एक दिनको कुरा हो कक्षा ४ मा पढ्दै गर्दा हिसाब मिलाउन नजान्दा उसबेला बिमल सरले दुवै हात फुट्ने गरी बाँसका सिर्कनाले पिटेको स्मरण अझै छ । साथी भोगेन्द्र डाँगी, स्व. दिलीप थापा, दिलीप अधिकारी, नविन, राजकुमार, सुनिल, नरेश, मोहन, प्रकाश, राम, तेज, डिल्ले, मुलुके, टेकबहादुर, कुलदेव र नरहरी आदिले पनि आज जस्तो पिटाई अरु बेला खाएको थिएनौं भन्दै सुक्सुक् आँशु झारेको अझै सम्झना छ ।

केटीहरुमा सरला, पवित्रा, बिनिता, मनिका, नितु, हिमा, सोनिका त कक्षाकोठामै रुदै उभिन्थे । तर त्यही पिटाईकै कारणले होला पछि कक्षा १० सम्म अध्यापन गर्दा गणित विषयमा कहिल्यै फेल भइएन । गणित विषयमा अबल्ल स्थान ओगट्दै अगाडि बढ्यौं ।

त्यसबेला प्रकाश राईले भने डरका कारण पाइन्ट नै बिगारे । प्रकाशले पाइन्टमै विस्ट्याएपछि कक्षाकोठा दुर्गन्धीत हुन पुग्यो । पछि उनलाई सफा गर्न पठाउँदा अशोकले ‘पाइन्ट छेरुवा’ भनी जिस्क्याएका कारण १ हप्ता जसो प्रकाश विद्यालय आएनन् ।

उसबेला अहिलेको जस्तो भौतिक संरचनाले विद्यालयका भवन बनेका थिएनन् । टाटीले बारेको कोठा थियो । अनुशासित भई विद्यार्थीहरु बस्दथे । विद्यालयमा वार्षिक कार्यक्रम हुँदा सबै अभिभावकहरुको बाक्लो उपस्थिति हुने गथ्र्यो । सेतो सर्ट निलो पाइन्ट वा हाफपाइन्ट विद्यालयको ड्रेस थियो । विनोद सर, नरबहादुर सर, गिर्वाणविक्रम गुरुआमा हाम्रा पालाका हेडसर हुनुहुन्थ्यो ।

बिमली सर, नरेन्द्र सर, दुर्गा मिस, प्रेम सर, श्याम सर शिक्षक हुनुहुन्थ्यो । विद्यार्थीलाई कसरी उत्कृष्ट बनाउने भन्ने विषयमा चिन्तन गरेको पाउथ्यौं । शिक्षकशिक्षक बिच अध्यापन विषयमा छलफल हुने गथ्र्यो । विद्यालयमा लगाएको फुलबारी गोडाई हुन्थ्यो, स्कुलमा सुन्दर बगैंचा हुन्थ्ये । अहिले पनि त्यस बेला रोपिएका पिपलको बोट विद्यालयको बीच भागमा अवस्थित छ ।

हिजोआज भन्दाभन्दै विद्यालयको स्वर्ण महोत्सव आईपुगेको छ । २०२४ साल ज्येष्ठ २४ गते पाराखोपी केन्द्र १ को नामले स्थापना भएको उक्त विद्यालय स्वर्ण महोत्सवको तयारी हुँदा थाहा पाउने पूर्व विद्यार्थीहरुले सहयोगको सन्देश दिइरहेका छन् । भव्य रुपमा मनाउनु पर्छ भन्दै पूर्व विद्यार्थीहरु उद्धव थापा, चतुर्भुज काफ्ले, चन्द्र सिटौला, शेखर प्रधान लगायत सक्रिय छन् । पछिल्ला पुस्ताका कमल पोखरेल, केदार खतिवडा, सन्तोष काफ्ले, निर्मल काफ्ले, विमल काफ्लेहरु पनि लागि परेका छन् ।

व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बराईली र प्रधनाध्यापक श्याम थापा स्वर्ण महोत्सव कसरी सम्पन्न गर्ने भन्ने चिन्ता त्यतिकै छाएको देखिन्छ । विद्यालय आर्थिक दृष्टिकोणले त्यति धनी नभएतापनि यसबाट अध्ययन गरेर योग्य नागरिक भएको तथ्यले देख्दा विद्यालय धनी देखिन्छ र अरुणोदयको मर्यादा त्यसकारण उच्च पनि छ ।

हुन त शिक्षक गुरु वा गुरुआमा भनेका नदी तार्ने माझी हुन रे । विद्यार्थी नाउ चढ्ने यात्री । हामी यात्री हौं । नदी तार्ने उही आदरणीय शिक्षकशिक्षिकामा (माझी) हरुमा कोटी–कोटी प्रणाम र स्वास्थ्य रहुन भन्ने कामना बाहेक अर्को विकल्प छैन ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd