विश्व वेद पाठशालाको कल्पना गर्दै साधुटारमा महायज्ञ धुमधाम « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

विश्व वेद पाठशालाको कल्पना गर्दै साधुटारमा महायज्ञ धुमधाम


यलम्वर टाइम्स
७ माघ २०७४, आईतवार १२:१३

साधुटार । विश्व वेद संस्कृतिक पाठशालाको परिकल्पना गरेर अगाडि बढेको शंकराचार्य पीठ अर्जुनधारा–१, साधुटारमा आयोजित नारद महापुराण कथा प्रवचन अकाल मृत्यु निवार महायज्ञ पुराणमा विभिन्न क्षेत्रबाट आउने झक्तमार्गीहरुको उपस्थिति बाक्लिदै गएको छ । पं. पारसमणि ढकाल, उपवाचक त्रिलोचन खतिवडाबाट कलात्मक शैलीबाट महापुराणका कथाहरु वाचन हुँदै आएका छन् ।

पुराणको आईतबार ७ औं दिन संस्कृति विश्वविद्यालय वाराणासि काँशीका प्रा.डा. हरिप्रसाद अधिकारीले सबै धर्म सम्प्रदायलाई एक गराएर सनातनी धर्मलाई अगाडि बढाउनु पर्ने बताएका थिए । उनले सबै धर्म सम्प्रदायको सम्मान गर्दै साम्प्रदायीक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए ।

आजको विशेष धार्मिक कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रा.डा. अधिकारीले नेपाल आफैमा सुन्दर छटाले भरिएको राष्ट्र हो । यहाँका सबै जातिहरु सृजनात्मक आध्यात्मिक ज्ञान बोकेका हुनाले धार्मिक सहिष्णुता सदैव रहिरहने विश्वास व्यक्त गरे । उनले साधुटारमा विश्व वेद पाठशाला हुनमा दुईमत नरहेको बताउँदै विभिन्न सन्त, मन्त ठोकिने एक मात्र गन्तव्य स्थान भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा विशेष मन्तव्य राख्दै भारतका ख्याति प्राप्त गुरु सुवोधानन्द १००८ जी महाराजले मानव जीवनमा भागतवतको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अगाडि भने –‘जहाँ वौद्धिकता बोकेका व्यक्तित्वहरु बस्छन्, जसले सकारात्मक ज्ञान सदैव दिन्छ, जो समाजको उदाहरणीय व्यक्ति बन्न सक्छ ती व्यक्ति बसेको स्थान नै तीर्थ हो ।’ उनले भागवतमा भक्तको चरित्र हुन्छ, भन्ने प्रष्ट्याउँदै प्रिय वस्तुले संसारलाई दुःख दिने काम गरेको उदाहरणसहित बताए ।

कार्यक्रममा कञ्चनजङ्गा एफएमका प्रबन्धक चन्द्र भण्डारी, कार्यक्रम प्रस्तोता पिनाकी कोइराला, पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, यलम्वर टाइम्सका सम्पादक दिपीन राई, सञ्चारीका समूहका सदस्य लीला राई, साहित्यकार रोहिणीविलास लुइटेल लगायतको आतिथ्य रहेको थियो ।

माघ २ गतेबाट सञ्चालन भएको पुराणमा भारतको सिक्किम, दार्जिलिङ, नेपालको दमक, विराटनगर, धरान लगायतका धार्मिक व्यक्तित्वहरु पुराण श्रवण गर्न आतिथ्य भएको साधुटारका व्यासाचार्य गुरु लक्ष्मी खतिवडाले बताए ।

पुराणमा शनिवारसम्ममा ३० लाख बढी संकलन भएको र स्थानीय समाजसेवी योगप्रसाद भट्टराई र शोभा भट्टराईबाट २० लाख मूल्य बराबरको जग्गा प्राप्त भएको, बिर्तामोड निवासी गणेश खनालबाट ५ लाख मूल्य बराबरको जग्गा प्राप्त भएको व्यासाचार्य गुरु खतिवडाले जानकारी दिए ।

२०३३ सालबाट सञ्चालनमा आएको साधुटार संस्कृत विद्यालयमा हाल १३२ जना बटुकहरु अध्यापन गर्छन् भने २१ वटा गाईको संरक्षण गरिएको छ । साढे २ विगाह जमिनमा अवस्थित उक्त संस्कृत विद्यालयमा ५ हजार वर्ष पुरानो स्वामीको वृक्ष रहेको छ । उक्त वृक्षमा गत पुस २८ गते विश्व हिन्दू गुरु शंकराचार्य आई ध्यान समेत गरेको आयोजकले बताएका छन् ।