फिदिममा सुनिए राबत « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

फिदिममा सुनिए राबत


यलम्वर टाइम्स
७ भाद्र २०७४, बुधबार ०९:२१

[सन्देश सुब्बा]

पाँचथर ।

आहा ! यार तिम्रो त घर पनि बजार जस्तो,
कोही किनिन, कोही बेचिन तयार जस्तो ।

यो बाटोमा जस्ले मुठ्ठी उठाएर हिंड्न सक्छ,
एक्लै पर्ला उ तर देखिन्छ हजार जस्तो ।

बाहिर सिमसिमे पानी सँगै अँध्यारो खस्दै थियो । भित्र लाइटको चहकिलो प्रकाशमा कवि तथा गजलकार राबत स्टेजमा उ’भेर जब यसरी पोखिए शब्दमा– दर्शकदीर्घाबाट बेजोडले तालि बज्यो । १५२ औं मोतीजयन्तीको अवशरमा गजल मञ्च पाँचथरले आयोजना गरेको कार्यक्रममा पाँचथरे गजल पारखी राबत सँग रमाए । वार्षिक रुपमा प्रदान गरिंदै आएको ‘पाँचौं ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ थाप्न फिदिम पुगेका राबत सुरुमा तीन वटा गजल सुनाउँछु भन्दै स्टेजमा उभे पनि आधा दर्जन गजल नसुनाइ उम्किन पाएनन् । सुनाउँन करै लाग्यो, र सुनाए–

दुईटा कुरा बारम्बार उस्तै–उस्तै लाग्छ,
जिन्दगी र कारागार उस्तै–उस्तै लाग्छ ।

सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने,
सिसा र मेरो निधार उस्तै–उस्तै लाग्छ ।

पाँच हजार पाँच सय ५५ रुपैंयाँ राशीको ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ को पाँचौं संस्करणबाट पुरस्कृत गजलकार राबतले लिम्बुवानमा आएर पुरस्कृत हुन पाउँदा गर्वानुभूति भएको सुनाए । उनलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार केशव आचार्य र विशेष अतिथि कवि तथा समालोचक प्रकाश थाम्सुहाङले संयुक्त रुपमा पुरस्कार वितरण गरे । आचार्यले राबतका सबै गजल उत्कृष्ठ र शक्तिशाली भएको टिप्पणी गरे । थाम्सुहाङले राबत पछिल्लो पुस्ताको उम्दा स्रष्टा भएको उल्लेख गरे । कार्यक्रममा प्रेम र रक्सि सँगै सामयिक गजल पनि पस्के राबतले–

समस्या छ समाधान हुँदैन,
यतातिर कसैको ध्यान हुँदैन ।

ढुंगा नहाने सम्म सुन्दै नसुन्ने,
लाग्छ सरकारको कान हुँदैन ।

यसैबीच मञ्चले गत वर्ष देखि सुरु गरेको मेची–कोशी गजल प्रतियोगिताको दोस्रो संस्करण पनि सम्पन्न भएको छ । मेची र कोशी अञ्चलका ५२ गजलकार सहभागि प्रतियोगितामा झापाका कल्पना आचार्य (ओली) प्रथम, भोजपुरका सुनिता सापकोटा द्धितिय र झापाकै सुष्मा चिमरिया त्रितिय भए । उनीहरुलाई क्रमशः नगद नौ हजार, सात हजार र पाँच हजार प्रदान गरियो । कार्यक्रममा उत्कृष्ठ सातमा पर्न सफल युवराज काफ्ले इवन (मोरङ), इन्दिरा कुमाल (झापा), एलकुमार लिम्बू (मोरङ) र नवीन प्रधान (भोजपुर) लाई पनि पुरस्कृत गरिएको मञ्चका अध्यक्ष दीपक खनालले बताए । आगामी वर्ष पनि मोतीजयन्तीको दिन वितरण गरिंदै आएको ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ वितरण समारोह सँगै प्रतियोगितालाई पनि निरन्तरता दिने योजना रहेको अध्यक्ष खनालले बताए ।